• सोमबार-जेठ-५-२०८२

कोटिहोममा विभिन्न जात जातिको संस्कृति प्रदर्शन


पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जात जातिको संस्कृति प्रदर्शन गरिएको छ ।


कोटिहोममा सनातन हिन्दू धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आइतबारदेखि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको हो ।

 

कोटिहोममा आजदेखि हरेक दिन विभिन्न जात जातिको संस्कृति  प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटिहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन गर्न चाहेमा आयोजकलाई सम्पर्क गर्न सक्नेछन् ।

कोटिहोममा आइतबार नवलपुरबाट मध्य विन्दु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मान बहादुर महतो, जिल्ला समन्वय समिति नवलपुरका सदस्य लोक नाथ अर्याल,  थारु संस्कृतिका अनुसन्धानकर्ता हरिमाया चौधरी सहितको १ सय  जनाको समूह कोटीहोम दर्शन र थारु संस्कृतिको प्रदर्शनका गरेका थिए । उनीहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गरेका थिए ।

 

त्यसै गरी जेठ १० गते शनिवार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौँ सिरुवारिबाट स्थानीय जात जाति बाजा गाजासहित झाँकी प्रस्तुत हुने छ । उनीहरूले कोटिहोम विशेष गरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।

 

कोटिहोममा प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुति दिनहुँ रहेको छ । कार्यक्रममा अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महाराजलाई कोटिहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले स–सम्मानका साथ विदाइ गरेका छन् ।

बौद्धिक धर्म परिषद्का मठाधिश स्वामी जगन्नाथ आचार्यले मानव सेवा फाउन्डेसनले सेवा सँगै सनातन धर्मको जगेर्ना गर्ने काम गरेको बताउँदै महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको यो सतत कार्यमा सबै जुट्नु पर्ने उल्लेख गरे ।

 

महन्त आदियोगि गौतम स्वामीले कोटिहोममा कथा प्रवचन तथा सन्देश दिएका थिए । कोटिहोममा आज भजन गायक रेसम सापकोटा, लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए ।

कोटिहोममा भोलि सोमबार वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
 

 

प्रतिकृया दिनुहोस