रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै नवविवाहीता मुस्लिम महिलाको मृत्युको घटना संग जोडिएका मुख्य आरोपी मृतकको श्रीमानमाथि दुरुत्साहन मुद्दा दर्ता भएको छ । घटनालाई दबाउन दोषी लाई कारवाही बाट बचाउन बिचौलियाको चलखेल लाई चुनौती दिँदै ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको हो ।
बिचौलियाले प्रहरी सँगै पीडित परिवारलाई अनेकन दवाब र प्रभावमा पार्न चलखेल सुरु गरेका थिए तर एसपी नेत्र मणि गिरीको निर्देशन तथा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी राजन कार्कीको सुझबुझले दोषीलाई कारबाहीको दायरामा ल्याउन मुद्दा दायर गरिएको हो ।
कटहरिया- ३ बड़ेरवा टोलमा घर भई हाल कटहरिया- ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाट माथी २१ वर्षीया श्रीमती सानीया प्रविन लाई आत्महत्या गर्न बाध्य पारेको खुलेपछि इलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको डिएसपी कार्कीले बताएका छन् ।
बिवाह भएदेखि नै मृतकका श्रीमान तथा घटनाका मुख्य आरोपी अरमानले दाईजोमा माग गरेको मोटरसाइकल, ऐसी, पैसा, लगायत सानो सानो कुरामा पनि श्रीमती सानियालाई मानसिक यातना दिने गरेको कारण घटना भएको अनुसन्धानबाट देखिएको डिएसपी कार्कीले बताएका छन् ।
मुख्य आरोपी माथि मुद्दा दायर गरिएको छ, घटनाको थप अनुसन्धान भइरहेको छ, अनुसन्धानमा अरु ककस्को संलग्नता देखिन्छ त्यसै अनुसारको कारवाही प्रक्रिया बढाइने डिएसपी कार्कीले जानकारी दिएका छन् । घटनापछि मुख्य आरोपी मृतक सानियाका श्रीमान अरमान राय भाट फरार रहेको तथा खोजीकार्य भइरहेको डिएसपी कार्कीले बताएका छन् ।
मृतकका बुबा भारत बिहार मोतीहारी जिल्ला सुगौली नगरपालिका ११ राय टोला निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाइजोको कारण छोरी सानियालाई दैनिक जसो कुटपिट गरी ज्वाईँ अरमान सहित सपरिवार मिलेर हत्या गरेको आरोप लगाएका थिए ।
६ महिना अघि अरमानसँग बिहेगर्दा दाइजोमा फर्नीचर, वादिङ फ्रिज, कुलार पंखा, नाक, कान, घाँटीमा सुनको गहना सुनको औंठी, लगायत सम्पूर्ण सामान दिएको, बिदा गर्न पटक पटक भन्दा कहिले केटीएम मोटरसाइकल त कहिले १ लाख भारु माग गरेको, केही दिन अघि घरमा एसी जडान गर्न माग गरेको उनको भनाइ छ ।
उनीहरूको माग पूरा गर्न नसकेको कारण बिशेष गरी समधिनिसँग मिलेर रमानाले छोरी सानियाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्ड्याएर आत्महत्या गरे जस्तो देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरेका छन् ।
के हो घटना ?
गत आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा सानियाको शव भेटिएको थियो। सानियाको सासु ससुरा लगायतकाले उनी पासो लगाएर आत्महत्या गरेको बताइरहेका छन भने माइती पक्षले छोरीको हत्या गरेर शव लाई झुण्ड्याएर आत्महत्या देखाउन खोजेको भन्दै आएका छन् ।
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । उक्त मृत्युको घटनाको नेपाल प्रहरीका संगठन प्रमुख आईजिपी दीपक थापाले बिशेष चासो राखेका थिए ।
प्रतिकृया दिनुहोस