काठमाडौं, वैशाख ३०–दीर्घकालीन सामाजिक सुरक्षा सुनिश्चित गर्नतर्फ एक महत्वपूर्ण कदमस्वरूप नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्बन्धी औपचारिक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
सम्झौता बमोजिम गोदावरी नगरपालिकामा कार्यरत शिक्षक तथा कर्मचारीको मासिक तलबबाट रु. ५०० कट्टा गरिनेछ भने सोही बराबर रकम नगरपालिकाको शिक्षक तथा कर्मचारी कल्याणकारी कोष बाट थप गरिनेछ। यसरी जम्मा हुने मासिक रु. १,००० को अंशदान नागरिक लगानी कोषमार्फत पेन्सन कोषमा संकलन हुनेछ।
सम्झौतापत्रमा गोदावरी नगरपालिकाका तर्फबाट नगर प्रमुख वीरेन्द्र भट्ट र नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरेका छन्।
उक्त योजनाले सहभागी शिक्षक तथा कर्मचारीलाई सेवा अवधिपछि आर्थिक स्थायित्व प्रदान गर्ने अपेक्षा गरिएको छ। कोषमा जम्मा भएको रकमको आधारमा सहभागीले ६० वर्ष पुगेपछि एकमुष्ठ भुक्तानी वा नियमित पेन्सनरूपमा लाभ प्राप्त गर्ने व्यवस्था गरिएको छ।
सार्वजनिक क्षेत्रमा दीर्घकालीन सामाजिक सुरक्षा योजनाको अभाव भइरहेका बेला यस किसिमको पहलले स्थानीय तहको कर्मचारी कल्याणमा दूरगामी प्रभाव पार्ने विज्ञहरू बताउँछन्। योजना कार्यान्वयन भएमा यो स्थानीय सरकारमार्फत सञ्चालनमा आएको पहिलो व्यवस्थित पेन्सन कार्यक्रममध्ये एक ठहरिनेछ।
नागरिक लगानी कोषले निजी तथा सार्वजनिक क्षेत्रका कर्मचारीहरूको वृद्धावस्थामा सुरक्षित र सुनिश्चित आय प्रवाहका लागि नागरिक पेन्सन योजना प्रवद्र्धन गर्दै आएको छ। गोदावरी नगरपालिकाको सहभागिताले यो योजनाप्रति स्थानीय सरकारको विश्वास पनि झल्किन्छ।
प्रतिकृया दिनुहोस