• सोमबार-बैशाख-२९-२०८२

नारायणगढ–मुग्लिङ सडक खण्डमा ट्रक पल्टिँदा यातायात पूर्णरूपमा ठप्प, प्रहरी र सडक विभाग असफल 

प्रहरी र सडक विभागको साधन स्राेतकाे तयारीप्रति प्रश्नचिह्न


२०८२ वैशाख २८, आइतबार | चितवन । चितवन — नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत चाल्निबारी नजिक आज बिहान साढे ५ बजे तिर एउटा मालवाहक(काेइला बाेकेकाे) ट्रक पल्टिँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । बिहानैदेखि अवरुद्ध सडक अझैसम्म खुल्न सकेको छैन, जसका कारण हजाराैं यात्रुहरू घण्टौंदेखि सडकमा अलपत्र परेका छन्।

 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्रक सडकको घुम्तीमा अनियन्त्रित भई पल्टिएको हो। ट्रकमा  काेइला लोड गरिएको थियो, र पल्टिएको स्थान सडकको दुबै लेन ढाकिने गरी भएको हुँदा सवारी आवागमन पुरै ठप्प भएको हो।

 

प्रहरी र सडक विभागको तयारीप्रति प्रश्नचिह्न


ट्रक पल्टिएको घण्टाैं बितिसक्दा पनि नेपाल प्रहरी र सडक डिभिजन कार्यालयले गाडी हटाउने पहलमा उल्लेखनीय प्रगति गर्न सकेका छैनन्। घटनास्थलमा एक जना ट्राफिक प्रहरी जवानले साँघु न्यूजसँग कुरा गर्दै भने, “क्रेन झिकाउने प्रयास भइरहेको छ तर यहाँका भौगोलिक अवस्था र ट्रकको तौलका कारण समस्या आएको हो।”

 

तर, स्थानीय र यात्रुहरू भने सरकारका सम्बन्धित निकायप्रति आक्रोशित छन्। "यो सडक देशकै मुख्य सडक हो, हरेकपटक यस्तै अबस्थामा घण्टौं रोकिएर बस्नुपर्ने, सरकारसँग ढिलो हुनेबाहेक अरु विकल्प छैन ?" नारायणगढबाट काठमाडौं जाँदै गरेका एक यात्रुले भने।

 

यात्रु र सामान ढुवानीमा ठुलो असर


सडक अवरुद्ध हुँदा सैकडौं यात्रु गन्तव्यमा जान नपाएर बाटैमा अलपत्र परेका छन्। गर्मी बढ्दो अवस्थामा ट्रक र बसमा बसेका यात्रुहरू पानी र खानाको अभावमा हैरान छन्। खाद्य र औद्योगिक सामग्री बोकेका ढुवानी गाडीहरू पनि लामबद्ध अवस्थामा छन्, जसले आपूर्ति प्रणालीमा असर पार्ने जोखिम बढाएको छ।

 

स्थानीय प्रशासनको प्रतिक्रिया


चितवनका प्रमुख जिल्ला अधिकारीले साँघु न्यूजसँग प्रतिक्रिया दिँदै भने, “स्थिति चाँडै सामान्य पार्ने प्रयास जारी छ। वैकल्पिक रुट र ट्राफिक व्यवस्थापनका लागि वैठक बस्दैछौं।” तर स्थानियवासीहरूले बारम्बार यस्तो समस्या दोहोरिँदा पनि पूर्वतयारी नहुँदा सधैं यात्रु र व्यापारीले दुःख पाउने गरेका छन् भनेर आलोचना गरेका छन्।

निष्कर्ष
नारायणगढ–मुग्लिङ सडक खण्डको यो घटना फेरि एकपटक नेपालका राजमार्ग व्यवस्थापनप्रति प्रश्न खडा गर्छ। तत्काल ट्रक हटाउने र वैकल्पिक मार्गको सुनिश्चितता नगरेसम्म समस्या झन जटिल बन्दै जानेछ। साँघु न्यूज डटकम घटनास्थलको थप विवरण संकलन गरिरहेको छ।

— साँघु न्यूज डटकम, चितवन

प्रतिकृया दिनुहोस