• आइतबार-बैशाख-२८-२०८२

फेवातालमा हावाहुरीले फसेका दुई जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

पोखरा, बैशाख २७ – पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा वैशाख २७ गते शनिबार साँझ आएको अचानकको हावाहुरीपछि तालको छालमा फसेका दुई जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

करिब १६:४५ बजे आएको तीव्र हावाहुरीले गर्दा काठको डुङ्गा नियन्त्रण बाहिर जाँदा अन्नपूर्ण गाउँपालिका–३ निवासी ४८ वर्षीय लक्ष्मण गुरुङ र विजय गुरुङ तालको बीचमै अलपत्र परेका थिए। उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल, नं. २४ कालिका गण कास्की अन्तर्गत फेवाताल रेस्क्यू टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले मोटर बोटको सहयोगमा उद्धार गरेको हो।

 

प्रत्यक्षदर्शीको अनुसार, केही मिनेटमै तालको अवस्था बिग्रिएको थियो। "सबै बोट किनार तिर फर्किन थाले, तर एउटा डुङ्गा छालसँगै घुमिरहेको देखियो," स्थानीय व्यवसायी तथा प्रत्यक्षदर्शी रमेश थापाले भने, "हामीले तुरुन्तै प्रहरीलाई खबर गर्‍यौं। केहीबेरमै मोटर बोट आएको देख्यौं र उद्धार सम्पन्न भयो।"

 

सशस्त्र प्रहरीका अनुसार, ती व्यक्तिहरू सामान्य घुमघामका लागि तालमा गएका थिए। मौसमको अप्रत्याशित परिवर्तनले गर्दा उनीहरू तालको बीचमै रोकिएका थिए।

 

उद्धारपश्चात उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि नजिकको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था गरिएको थियो, हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

 

सशस्त्र प्रहरी बलले फेवाताल क्षेत्रमा विशेषतः अपराह्न र बेलुकाको समयमा हावाहुरी र छालको जोखिम उच्च हुने भएकाले बोटिङ गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

 

"मौसम अनुकूल भए मात्र बोटिङ गर्नुपर्छ, र सुरक्षा उपकरण अनिवार्य साथमा हुनुपर्छ," सशस्त्र प्रहरीका एक अधिकृतले बताए।

प्रतिकृया दिनुहोस