मुगु । मुगु जिल्लाका चार स्थानीय तहमा कुल १ अर्ब ३० करोड १५ लाख २० हजार रुपैयाँ बराबरको बेरुजु रकम रहेको तथ्य सार्वजनिक भएको छ । महालेखा परिक्षणको कार्यालयको प्रतिवेदनअनुसार सो बेरुजु रकम स्थानीय तह लागू भएदेखि आर्थिक वर्ष २०७९÷८० सम्मको हो ।
गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा शुक्रबार मुगुको सदरमुकाम गमगढीमा आयोजित स्थानीय सरकारमा वित्तीय अनुशासन, बेरुजु फर्स्यौट र सुशासन प्रवर्द्धन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा महालेखा परिक्षकको कार्यालयका निर्देशक जयनाथ घिमीरेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मुगुका चार स्थानीय तहहरूमध्ये सबैभन्दा बढी बेरुजु रकम सोरु गाउँपालिकामा फेला परेको छ । सो गाउँपालिकाको बेरुजु रकम ६१ करोड २२ लाख ९३ हजार रहेको छ । त्यसपछि खत्याड गाउँपालिकाको ४२ करोड ९० लाख ६६ हजार, छायाँनाथ रारा नगरपालिकाको १९ करोड ३५ लाख २३ हजार, र सबैभन्दा कम मुगुम कार्मारोङ गाउँपालिकाको ६ करोड ६६ लाख ३८ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।
बेरुजु रकममध्ये केही असुली गर्नुपर्ने, केही प्रमाण कागजात पेस गर्नुपर्ने, केही नियमित गर्नुपर्ने र केही पेस्की रकम समेटिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । कार्यक्रममा स्थानीय सरकारहरूमा वित्तीय अनुशासन पालना गराउन र पारदर्शिता अभिवृद्धि गर्न आवश्यक सुधारको खाँचो औंल्याइएको थियो ।
प्रतिकृया दिनुहोस