म्याड्रिड, १६ बैशाख । सोमबार युरोपका धेरै देशमा ब्ल्याकआउट भएको खबर आएको छ ।
स्पेन, पोर्चुगल र फ्रान्सका धेरै क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको छ । स्थानीय मिडियाका अनुसार ब्ल्याक आउटले महत्वपूर्ण पूर्वाधारमा अवरोध पुर्याएको छ। विद्युत् कटौतीका कारण हवाई र मेट्रो सेवा ठप्प भएको छ ।
म्याड्रिडदेखि लिस्बनसम्मको ठूलो जनसंख्या अन्धकारमा डुबेको छ । जसका कारण सर्वसाधारणले निकै सास्ती खेप्नु परेको जनाइएको छ । यो आपतकालको सामना गर्न, प्रोटोकलहरू तुरुन्तै लागू गरिएको छ। साथै यसको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।
यो साइबर आक्रमण पनि हुन सक्ने अनुमान गरिएको छ । प्रभावित सहरहरूमा म्याड्रिड, बार्सिलोना, लिस्बन, सेभिल र पोर्टो जस्ता प्रमुख औद्योगिक केन्द्रहरू पर्दछन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार विद्युत् कटौतीका कारण धेरै सेवा, रेल स्टेशन र विमानस्थल पनि नराम्ररी प्रभावित भएका छन् । स्पेनको ट्राफिक प्राधिकरण डिजिटीले नागरिकहरूलाई विद्युत कटौतीको कारण आवश्यक बाहेक आफ्नो सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ । ट्राफिक बत्तीहरू बन्द गरिएका छन् र मेट्रो सेवाहरू रोकिएका छन्, जसले सडकहरूमा अराजकता सिर्जना गरेको छ ।
अस्पतालहरूमा ब्याकअप जेनेरेटरको सहयोगमा अत्यावश्यक सेवाहरू सञ्चालन भइरहेका छन् तर अधिकारीहरूले अस्पतालका कर्मचारीहरूलाई कम्प्युटरहरू बन्द गर्न र विद्युत बचत गर्न अन्य उपायहरू गर्न निर्देशन दिएका छन् ।
यसैबीच, स्पेनको अवस्थालाई सम्हाल्न संकट व्यवस्थापन समिति गठन गरिएको छ। स्पेनी रेडियो स्टेशनहरूले रिपोर्ट गरेका छन कि म्याड्रिड भूमिगत रेल सेवा खाली भइरहेको छ । क्याडर सेर रेडियो स्टेशनले रिपोर्ट गर्यो कि म्याड्रिड सिटी सेन्टरमा ट्राफिक जाम भएको थियो किनभने ट्राफिक लाइटहरू काम गरिरहेका थिएनन् ।
स्पेनको पावर ग्रिड अपरेटर कम्पनी ‘रेड इलेक्ट्रिका’ले ब्ल्याकआउटको पुष्टि गर्दै यो समस्याले देशलाई असर गरिरहेको बताएको छ । सरकार र ग्रिड अपरेटर रेड इलेक्ट्रिकाले आउटेजको कारण पत्ता लगाउन प्रयास गरिरहेको छ। स्पेनी अपरेटरले ट्विटरमा भने कि ‘ब्याकअप योजना बनाइएको छ, यो एक व्यापक युरोपेली समस्या हो । देशभर विद्युत् आपूर्ति सुचारु गर्न क्षेत्रीय कम्पनीहरूसँग मिलेर धेरै ठोस कदम चालिएको छ ।’
यसबाहेक पोर्चुगलको ग्रिड अपरेटर ‘इ–रेडिज’ले पनि युरोपेली पावर ग्रिडमा समस्याका कारण यो संकट उत्पन्न भएको बताएको छ। ‘रेड इलेक्ट्रिक’ले देशको उत्तरी र दक्षिणी क्षेत्रमा विद्युत् पुनःस्थापनाको काम शुरु भएको पनि जानकारी दिएको छ । कम्पनीले यसलाई ‘महत्वपूर्ण कदम’ भन्दै पूर्ण पुनर्स्थापनातर्फ तीव्र गतिमा काम भइरहेको बताएको छ । म्याड्रिडमा ट्राफिक लाइटहरू बन्द गरिएका छन्, जसले सडक यातायातमा ठूलो अवरोध सिर्जना गरेको छ। साथै, भूमिगत रेल प्रणालीका केही भागहरू खाली गरिएको छ ।
यस अवधिमा म्याड्रिड ओपन टेनिस प्रतियोगिताको खेल बिचमै रोकिनु परेको थियो, जसका कारण बेलायती खेलाडी ज्याकब फर्नलेसहित धेरै खेलाडीले कोर्ट छोड्नु परेको थियो । एक्कासि विद्युत् चुहिँदा स्कोरबोर्ड र कोर्ट क्यामेराले पनि काम गर्न छाडेको थियो । स्पेनको सार्वजनिक प्रसारणकर्ता आरटिभीइले स्थानीय समय अनुसार दिउँसो १२ः३० बजे देशका विभिन्न क्षेत्रहरूमा बिजुली गएको हो र यसको न्यूजरूम, म्याड्रिडको स्पेनी संसद र देशभरका मेट्रो स्टेशनहरू अन्धकारमा डुबेको थियो ।
प्रतिकृया दिनुहोस