• मंगलबार-बैशाख-१६-२०८२

आन्दोलन र अव्यवस्थाः शिक्षक, तपाईं हामीलाई कहाँ लैजाँदै हुनुहुन्छ ?

✍️ शिक्षक आन्दोलन कि बालबालिकाको सपना तुहाउने अभियान ?

के तपाईंहरूले पनि सोध्नुभएको छ - आन्दोलनरत शिक्षकहरूलाई कारबाही किन नगरेको ? किन उनीहरूलाई अझै जागिरबाट हटाइएको छैन ? हामी कर तिर्छौं, हाम्रो करबाट तलव भत्ता खाने शिक्षकहरू आज विद्यार्थी छाडेर सडकमा रमाइरहेका छन्। स्कुल बन्द, पढाइ ठप्प - अनि भविष्य अन्धकार !

यो के हो त ? शिक्षालाई सेवा होइन, सडक आन्दोलनको अस्त्र बनाउने ?

विद्यालय बन्द गरेर सडक कब्जा गर्नु, सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्नु, पत्रकार कुट्नु - के यही हो शिक्षकको धर्म  ?

अचेल त शिक्षक आन्दोलन ‘उग्र’ मात्र होइन, अराजक बन्दै गएको छ। विद्यार्थीहरू अन्योलमा छन्, अभिभावकहरू चिन्तित छन्। विद्यालयहरू बन्द छन्, तर शिक्षकहरूचाहिँ सडकमै हाजिरी गरेर तलब भत्ता उठाइरहेका छन्। सोच्नुस् त -सडकमै बसेर, आन्दोलनमै रमाएर राज्यको तलव बुझ्ने !

शिक्षकहरू, अब होस आउनुस् । राजनीति होइन, शिक्षा बचाउनुस् । आन्दोलन होइन, विद्यालय फर्किनुस्। किनभने- तपाईंहरूको आन्दोलनले जनताको सपना, भविष्य र विश्वास नष्ट गर्दैछ।

 

स्थानीय सरकार के हेरेर बसिरहेको छ ?


कानून उलङ्घन गर्दा पनि किन मौन छ स्थानीय सरकार ? किन तुरुन्त कारबाही प्रक्रिया अघि बढाइएन ? अब धेरै भयो — अब बहाना बन्द गरौं। पठनपाठन छोडेर सडकमा रमाउने शिक्षकहरूलाई तत्काल निलम्बन गरौं, नियुक्ति खारेज गरौं। नयाँ शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाऔं।

 

सरकारी विद्यालयहरूको हालत पहिले नै थलिएको थियो। अब आन्दोलनले झन् अवस्था बिगार्ने तर्फ लम्किएको छ। विद्यार्थीहरू निजी विद्यालयतर्फ पलायन भइरहेका छन्, सरकारी विद्यालय भने सुनसान छन्।

 

शिक्षक आन्दोलनको पछाडि राजनीति !


अब खुल्दै गएको छ — आन्दोलन मात्र शिक्षकको अधिकारका लागि होइन रहेछ। यसको पछाडि त ठूलो राजनीतिक षड्यन्त्र छ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी माओवादी निकट हुन्। आन्दोलन प्रचण्डको निर्देशनमा भइरहेको खुलेको छ।

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा लाखौं सर्वसाधारणको उपस्थिति देखेपछि प्रचण्ड त्रसित भए। त्यसपछि राजावादी आन्दोलन कमजोर पार्नका लागि शिक्षकहरूलाई सडकमा उतारिएको हो। शिक्षकहरूलाई प्रयोग गरेर विद्यार्थीको भविष्यसँग खेलबाड गरिँदैछ।

सुरक्षाकर्मीमाथि विश्वासघात


सुरुमा शिक्षकहरूलाई प्रहरीहरूले साथी सम्झिए। तर अहिले ती शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा सुरु गरेका छन् । आन्दोलनकारीसँग ‘मित्रता’ गर्दा सुरक्षाकर्मीहरूले भोग्नुपरेको नतिजा सबैले देख्यौं।

जनयुद्धमा माओवादीहरूले जे गरे-साथी बनेर धोका दिए - अहिले आन्दोलनरत शिक्षकहरूले त्यही रणनीति दोहोर्‍याएका छन्।

 

पत्रकार सविना कार्कीलाई कसले न्याय दिन्छ ?


शिक्षक आन्दोलनमा घाइते भएकी पत्रकार सविना कार्कीको आँखा गुम्न लागेको छ। अहिले प्रश्न उठ्छ- उनको पीडाको जिम्मेवार को ? शिक्षकहरू ? काठमाडौं प्रशासन ? कि बेखबर सरकार ?

 

यति ठूलो दुर्घटना भएपछि पनि प्रशासन मौन छ। सिडियो ऋषिराम तिवारी अझै निषेधाज्ञा गर्न सकिरहेका छैनन्। राजधानी अशान्त हुँदा पनि ‘ख्यालठट्टा’जस्तै व्यवस्थापन भइरहेको छ।

अब के गर्ने ?
सरकारले अब शिक्षक आन्दोलनप्रति ‘सम्वेदनशील’ होइन, कानूनी कठोरता देखाउनुपर्छ।

विद्यालय तुरुन्त खोलौं।

विद्यार्थीहरूको भविष्य जोगाऔं।

शिक्षालाई राजनीति मुक्त गरौं।

 

प्रचण्डका दुई कुरा

प्रचण्डले भन्छन्-‘जनयुद्धले लोकतन्त्र र गणतन्त्र ल्यायो।’
जनताले सोधिरहेका छन् -

गणतन्त्रले जनतालाई के दियो ?

किन जनता रोजगारीका लागि विदेश जान बाध्य छन् ?

किन देश २७ खर्ब ऋणमा डुबेको छ ?

किन किसान, मजदुर र सर्वसाधारणको भुक्तानी रोकिन्छ ?

सोध्नुपर्छ प्रचण्डलाई -
जनयुद्धले माओवादी नेतालाई त दिएको होला, जनतालाई के दियो ?

निष्कर्ष
हिजो माओवादीले जनता मारे, आज प्रचण्डले बालबालिकाको भविष्य मारेका छन्।

शिक्षकहरू, अब होस आउनुस् । राजनीति होइन, शिक्षा बचाउनुस् । आन्दोलन होइन, विद्यालय फर्किनुस्। किनभने- तपाईंहरूको आन्दोलनले जनताको सपना, भविष्य र विश्वास नष्ट गर्दैछ।

अनि, सरकार - तपाईंलाई अब ढिलो गर्न छुट छैन। जनताको धैर्य सकिँदैछ।

प्रतिकृया दिनुहोस