• बिहीबार-बैशाख-११-२०८२

श्रममन्त्री भण्डारीद्वारा यूएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव

 

काठमाडौँ, १० वैशाख : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबीच द्विपक्षीय छलफल गर्नुभएको छ । 

 

आज यहाँ भएको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट मन्त्री भण्डारीले नेपाली श्रमिकको पक्षमा दीर्घकालीन हित हुने विषय प्रस्ताव गर्नुभयो । नेपाली महिला घरेलु कामदार युएई लैजाने सम्बन्धमा एक ‘पाइलट’ परियोजना अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रीकोे निजी सचिवालयले जनाएको छ । 

    
पछिल्लो  समय अध्ययन गन्तव्यको रुपमा पनि विकास भएको  युएईमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र दक्ष जनशक्ति उत्पादनका लागि तालिम केन्द्र निर्माण गर्न भौतिक पूर्वाधारसहित आवश्यक तालिम उपकरण उपलब्ध गराइदिन मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

 

उहाँले युएईमा कार्यरत नेपाली कामदारको हकमा २४ घण्टा काम गर्दा बिमा लागू हुनुपर्ने प्रस्ताव गर्र्नुभयो । त्यसैगरी, नेपाली कामदारले पारिश्रमिक रेमिट्यान्समार्फत रकम नेपाल पठाउँदा लाग्ने चर्काे शुल्क घटाउन आग्रह गर्नुभयो । 

 

मन्त्री भण्डारीले युएईमा रहेका कम्पनीले कर्पाेरेट सामाजिक उतरदायित्व अन्तरगत नेपाली कामदारका लागि स्वास्थ्य, शिक्षा विकासका लागि खर्च गर्नुपर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको जनाइएको छ ।
---

 

 

प्रतिकृया दिनुहोस