काठमाडाैं | देशकै इतिहासको गर्विलो पाना फेरि एकपटक ब्यूँझिएको छ-यो पटक पैतालाले। गोरखाको ऐतिहासिक दरबारबाट सुरु भएको गोरखा–जितगढी पदयात्रा ११ दिनको रोमाञ्चक, साहसिक र सांस्कृतिक यात्रापछि रुपन्देहीको जितगढीमा पुगेर भव्य समारोहका साथ समापन भयो।
झण्डासँगै अघि बढे वीरताको पाइला
गोरखादेखि सुरु भएको यो यात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको पाँच ऐतिहासिक कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख, सबुज) र जितगढी युद्धमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर इतिहास बोकेका पाइला अघि बढे।
🎶 बाजागाजासहित, परम्परागत पोशाकमा सेनाकाे लव–लस्कर
पदाधिकारीदेखि सेनासम्म, सबै परम्परागत पोशाक र सांस्कृतिक बाजागाजासहित सहभागिता जनाइरहेका थिए। कतै ढोलको ताल, कतै झाँकी नाच – पूरा यात्रा इतिहास र संस्कृतिको जीवित प्रदर्शनी झैं देखिएको थियो।
📍२०७ कि.मि.को यात्रा, ११ दिनको गाथा
गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै बुटवलको जितगढी पुगेको यो यात्रा मात्र पैदल यात्रा थिएन, यो वीरताको पुनर्जागरण थियो। हरेक पाइलामा उजिरसिंह थापाको सम्झना, हरेक मोडमा वीरता र शौर्यको गन्ध।
🎉 समापन समारोह: इतिहासको कदर र निरन्तरताको घोषणा
बुटवलस्थित जितगढीमा आयोजना गरिएको भव्य समापन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो कार्यक्रमलाई “इतिहासको सम्मान र नयाँ पुस्ताको शिक्षा”को रूपमा अगाडि बढाइने प्रतिबद्धता जनाए।
🛕 जितगढी: जहाँ अङ्ग्रेज फौज घुँडा टेकेको थियो !
विसं १८७१–७२ को नेपाल–अङ्ग्रेज युद्धमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले जीत दिलाएको यही जितगढी आज वीरताको प्रतीक बनेर उभिएको छ।
👥 सहभागीको लस्कर
समारोहमा ललितपुरका प्रमुख चिरीबाबु महर्जन, गोरखाका प्रमुख कृष्ण बहादुर राना, पृतनापति उपरथी प्रेम बहादुर पुन, सुरक्षा अधिकारी, जनप्रतिनिधि, पत्रकार, स्थानीय बासिन्दा—सबैको उत्साह देख्नलायक थियो।
✨ किन विशेष छ यो पदयात्रा ?
युवापुस्तालाई इतिहाससँग जोड्ने माध्यम
राष्ट्रिय एकता, संस्कृति र वीरताको सन्देश
पर्यटन, परम्परा र देशभक्तिको संगम
यो यात्रा थोरै दिनको होइन, दीर्घकालीन सोचको सुरुआत हो। जुन देशले आफ्नो इतिहास बिर्सिन्छ, त्यो देशले भविष्य बनाउँदैन। नेपाली सेनाकाे गोरखा–जितगढी पदयात्राले देखायो-नेपाल इतिहासमै होइन, आत्मामा पनि जीवित छ।
प्रतिकृया दिनुहोस