खोटाङ, ६ वैशाख । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ स्तरोन्नतिका लागि रु दुई करोडभन्दा बढी लगानी गएिको थियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले रु दुई करोड १२ लाखभन्दा बढी रकम खर्च गरेका हुन् ।
परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो । यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीयवासी हर्षित भएका थिए । त्यसविपरीत प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन ।
यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) थियो । हरेक नयाँ वर्षको दिन बृहत् मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (इन्द्रेणीपोखरी)को स्तरोन्नति गर्न भुइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेराबार निर्माण गरिएको छ ।
इन्द्रेणीपोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइएको छ । पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको पोखरीमाथि इन्द्रेणीको स्वरुप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत बनाइएको छ । राज्यकोषको रु २० लाख रकम खर्चेर बनाइएको सो इन्द्रेणीको आकृति पनि गत वर्षको हावाहुरीले ढाल्यो र पुनः राखियो । फरक–फरक समयमा फरक–फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणीपोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो ।
पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको रु ४० लाख, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट रु २० लाख गाउँपालिकाको रु एक करोड ५२ लाखभन्दा बढी बजेट खर्च भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला तथा तराईका फाँटहरु अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणीपोखरीको स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो । स्तरोन्नतिको काम गरिएसँगै उल्टै पोखरीको पानी सुकेपछि स्थानीयवासी निराश बनेका छन् ।
प्राकृतिक संचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले गुनासो गर्नुभयो । “राज्यकोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ । इन्द्रेणीपोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिएन”, उहाँले भन्नुभयो, “बिनाअध्ययन यहाँ संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ । यसले पोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ ।”
इन्द्रेणीपोखरीबाट धार्मिक तथा पर्यटकीयस्थल बरापोखरी, उत्तरपूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोलढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीयस्थलहरू जोड्न सडकमार्गसमेत निर्माण गरिएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणीपोखरीमा बाहै्र महिना वनभोज खाने र दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सुकेपछि समस्या भएको स्थानीयले बताएका छन् ।
पर्यटन प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि लामो समयदेखि उपयोगविहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताउनुभयो । “इन्द्रेणीपोखरीमा कुनै पनि मुहान छैन । प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने क्रममा गरिएको ढलानसमेत चिरा–चिरा भएर फुटेको छ । अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन”, उहाँले भन्नुभयो ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरुले पनि आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलहरूको स्तरोन्नति गरिरहेका छन् । हलेसी, बराहपोखरी, टेम्के, जन्तेढुङ्गा, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुलेलगायत धार्मिक तथा पर्यटकीयस्थलहरू स्तरोन्नतिको काम सुरु गरिएको छ । त्यहाँ पनि सतर्कता अपनाउन समयमै ध्यान दिनुपर्ने सरोकार भएकाहरूको आग्रह छ ।
–––
प्रतिकृया दिनुहोस