कञ्चनपुर : विपद्जन्य घटनाबाट जोगिने उपाय सिकाउन नेपाली सेनाको भगतपुरस्थित श्रीदल गुल्मले जिल्लास्तरीय सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको छ । शुक्लाफाँटा नगरपालिकामा आयोजित तालिममा नौ वटा स्थानीय तहका विपद् व्यवस्थापन शाखाका कर्मचारी, नेपाली सेनाका जवान, नेपाल स्काउटका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका प्रतिनिधि, एनसिसी क्याडेट, सशस्त्र प्रहरीका जवान र नेपाल प्रहरीका विपद्सम्बन्धी कार्यमा संलग्न जवानहरूको सहभागिता छ ।
तालिममा सहजीकरण श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेल, कालिरक्षा गण(ई) कैलालीका उपसेनानी विदेश बजगाईं, श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका जमदार नृपबहादुर रोकायाले गरिरहनुभएको छ ।
श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका सेनानी हरिनारायण पौडेलले तालिमका सहभागीलाई भूकम्पीय अवस्थाका बारेमा जानकारी दिनुभएको छ । उहाँले भूकम्प आउनु पूर्वको तयारी, भूकम्पीय जोखिमका कारण, पारिवारिक तथा सामुदायिक योजना, अल्पकालीन वस्तुको व्यवस्था, प्राथमिक उपचारका सामग्रीको व्यवस्था, सुरक्षित स्थानको पहिचान गर्ने तरिका, घरभित्रको सुरक्षित स्थान, घर बाहिरको सुरक्षित स्थान, अल्पकालीन सञ्चार सम्बन्धको योजनाबारे जानकारी गराउनुभयो ।
पौडेलले भूकम्प आएको बेला अपनाउनुपर्ने सावधानी, भूकम्प गयरहेका बेला गर्न नहुने कार्य, भूकम्प आएपछिको द्रुत खोजी, हेलिङ खोज विधिभित्र ठाउँको लागि भौतिक खोजकोस्वरुप, बहुकोठा खोजविधिलगायत विविध विषयमा जानकारी गारइएको बताउनुभयो । घर निर्माण गर्दा मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भूकम्पको जोखिका हिसाबले नेपाल विश्वमा ११औँ स्थानमा रहेको चर्चा गर्दै सेनानी पौडेलले भूकम्प जहिले पनि आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दाले पूर्व तयारी गरी सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवनका जमदार नृपबहादुर रोकायाले प्राकृतिक, प्रविधिजन्य त्रुटी र मानवीय लापरबाहीका कारण आगलागी र वन डढेलो लाग्ने गरेको बताउनुभयो । उहाँले आगलागीका घटना हुन नदिन अपनाउनुपर्ने सावधानी, आगलागी भइहाले नियन्त्रण गर्ने उपायबारे तालिमका सहभागीलाई जानकारी दिएको बताउनुभयो ।
कालिरक्षा गण(ई) बढैया कैलालीका उपसेनानी बजगाईंले सर्पदंश लागेमा के गर्ने र कसरी बच्ने भन्नेबारे जानकारी दिनुभयो । उहाँले सर्पको इतिहासकाबारेमा चर्चा गर्दै नेपालमा पाइने विषालु सर्पका प्रजाति, सर्प पाइने स्थान, सर्पको टोकाइबाट बच्ने उपाय, सर्पदंशपश्चात् देखिने चिन्ह र लक्षण, उपचार विधिलगायतका बारेमा जानकारी दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस