• शनिबार-बैशाख-६-२०८२

"प्राधिकरणदेखि गभर्नरसम्मको शक्ति-संघर्ष: ओली-देउवा भेटपछि राजनैतिक तापक्रम घट्दै ?"

भित्र-भित्रै चलिरहेका खिचातानी र शक्ति समीकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति विवादले सत्तारूढ गठबन्धनभित्र खैलाबैला मच्चिएको छ। कांग्रेस नेतृत्व यो विषयमा खुलेर असन्तुष्टि पोख्न थालेको छ भने, प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रति रोष बढ्दै गएको महसुस हुन्छ।

 

विश्वसनीय स्रोतका अनुसार, ऊर्जा मन्त्रालय कांग्रेसको हातमा भए पनि प्रधानमन्त्री ओलीले आफ्नै निकट पात्रलाई चलाखीपूर्ण तरिकाले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि कांग्रेसमा असन्तोष चुलिएको हो। कांग्रेसले यो जिम्मेवारी आफ्ना निकट अर्जुन कार्कीलाई दिलाउने प्रयास गरिरहेको थियो। तर, त्यो सम्भव नभएपछि अब गभर्नर नियुक्तिमा कांग्रेसले चर्को अडान लिएको बताइएको छ।

 

गभर्नर नियुक्तिमा सुरुमा त्यति चासो नदेखाएको कांग्रेस नेतृत्वले अहिले भने “यसपटक सम्झौता छैन” भन्ने संकेत दिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा आफैं सक्रिय भएर प्रधानमन्त्री ओलीसँगको भेटमा कडा कुरा राखेको स्रोत बताउँछ। यही भेटपछि प्रधानमन्त्री ओली पनि गभर्नर कांग्रेसलाई दिन सकिने मनस्थितिमा पुगेका छन् भन्ने एमाले नेताहरूको बुझाइ छ।

 

भित्र-भित्रै चलिरहेका खिचातानी र शक्ति समीकरण


यस प्रकरणले नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धनको भविष्यप्रति पनि बिना आधार प्रश्न उठाउन थालेको छ। हाल निर्वाचन आयोग प्रमुख, त्रिभुवन विश्वविद्यालयको उपकुलपति, एआईजीको बढुवा, न्यायाधीश सिफारिसजस्ता विषयमा पनि स्पष्ट सहमति बन्न सकेको छैन। यिनै पदका लागि सत्तारूढ दलहरूबीच भागबण्डा मिलउन समस्या परेकाे बताइन्छ । 

 

पछिल्लाे राजनीतिक गतिविधि हेर्दा  कांग्रेसभित्रकै असन्तुष्ट धारले सरकारसँगकाे सम्बन्धमा थप पेचिलो बनाउँदै गएको महसुस छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारप्रति आलोचनात्मक र कडा भाषा प्रयोग गर्न थालेका छन्। उनीहरूले सरकारको 'चरित्र नै बदलिनुपर्ने' दावी गर्न थालेपछि गठबन्धनप्रतिको आस्था कमजोर बन्दै गएको संकेत देखिएको छ।

 

गठबन्धन संकटमा कि केवल दबाबको खेल ?


एमाले महासचिव शंकर पोखरेलले 'सरकार तत्काल ढल्दैन' भन्ने अभिव्यक्ति दिएर स्थिति सामान्य छ भन्ने सन्देश दिन खोजे पनि, पछिल्ला नियुक्ति र भागबण्डाको असमझदारीले राजनीति अझै चर्किन सक्ने अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस