काठमाडौं, वैशाख ४ – राजस्व अनुसन्धान विभागले विदेशी मुद्रा अपचलनसम्बन्धी गम्भीर अपराधमा संलग्न भएको आरोपमा सिन्धुपाल्चोक निवासी कुन्साङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा २०८२ वैशाख ३ गते मुद्दा दायर गरेको छ।
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट प्राप्त सूचनाका आधारमा २०८१ साल चैत्र ४ गते टोखा नगरपालिका–२, टोखाबाट झोरतर्फ जाँदै गरेको ना ७ ख १६५२ नम्बरको कन्टेनरमा शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा कन्टेनरका चालक कुन्साङ लामासहित ठूलो परिमाणमा अमेरिकी डलर र युरो बरामद गरिएको थियो।
फल्स बटममा लुकाइएको विदेशी मुद्रा
प्रहरीका अनुसार चालक बस्ने सिटमाथि रहेको क्याबिनमा फल्स बटम (कृत्रिम तह) बनाई विदेशी मुद्राहरू लुकाइएको अवस्थामा फेला परेको हो। चेकजाँचका क्रममा प्रहरीले ५, २, १ र ५० दरका युरो गरी कुल १३ लाख ७५ हजार १ सय ५० युरो र ५० तथा १०० दरका अमेरिकी डलर गरी कुल ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलर बरामद गरेको थियो।
नेपाल राष्ट्र बैंकले २०८१ साल चैत्र ४ गते निर्धारण गरेको विनिमय दरअनुसार, बरामद गरिएको विदेशी मुद्रा नेपाली २५ करोड ३४ लाख ७८ हजार ८ सय बयालीस रुपैयाँ बराबरको रहेको बताइएको छ।
मुद्दा दायर, सजाय र जफतको माग
बरामद विदेशी मुद्रासम्बन्धी अनुसन्धान पछि राजस्व अनुसन्धान विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ४, ५ र ९ बमोजिम कुन्साङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। विभागले सोही ऐनको दफा १७ को उपदफा (१) अनुसार जरिवाना र थप सजायको माग गर्दै विदेशी मुद्रा जफत गर्नसमेत माग गरेको छ।
त्यस्तै, विदेशी मुद्राको अपचलनका लागि प्रयोग गरिएको ना ७ ख १६५२ नम्बरको कन्टेनरलाई कसूरजन्य सम्पत्ति तथा साधन (रोका, नियन्त्रण र जफत) ऐन, २०७४ को दफा ११ अनुसार जफत गरियोस् भन्ने माग पनि गरिएको छ।
विगतमा पनि संलग्नता
प्रतिवादी कुन्साङ लामा यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई २०७४ साल असार २६ गते सुन चोरी तथा पैठारी मुद्दामा सजाय सुनाएको थियो। उक्त सजाय भुक्तान गरेको पाँच वर्षभित्र पुनः विदेशी मुद्रा अपचलनजस्तो गम्भीर अपराधमा संलग्न भएको पाइएपछि मुलुकी अपराध संहिता २०७४ को दफा ४४(२) बमोजिम थप कडा सजायको माग गरिएको छ।
फरार प्रतिवादीविरुद्ध म्याद जारीको माग
मुद्दाका सह–प्रतिवादी नारायण पौडेल फरार रहेकाले अदालतबाट उनको नाममा कानुनी म्याद जारी गर्नसमेत माग गरिएको विभागले जनाएको छ।
राजस्व अनुसन्धान विभागले यस मुद्दालाई उच्च प्राथमिकतामा राख्दै विदेशी मुद्राको अवैध कारोबार नियन्त्रणका लागि अझ कडा कदम चालिने संकेत दिएको छ।
प्रतिकृया दिनुहोस