काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा, गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाअनुसार उनलाई उक्त मुद्दामा पाँच वर्ष कैद सजाय र नगद २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार थिए ।
उनलाई मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा, गोरखा नगरपालिका-११ बाट पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार ढकालले टोखा नगरपालिका-९ मा घर भाडामा लिएर खाजाघर सञ्चालन गरेका थिए। उक्त खाजा घरमा बालिका राखेर उनले यौनधन्दामा संलग्न गराएका थिए ।
पीडित बालिकाको उद्धार गरी ढकाललाई प्रहरीले २०७९ मंसिर २५ गते पक्राउ गरी अदालत पेश गरेको थियो। अदालतले उनलाई २०७९ पुस ७ गते एक लाख धरौटीमा रिहा गरेको थियो ।
२०८१ मंसिर ८ गते अदालतले फैसला गर्दै ढकाललाई पाँच वर्षको सजाय तोकेको थियो। त्यसयता ढकाल फरार रहेका थिए ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाएको छ।
प्रतिकृया दिनुहोस