इटहरी (सुनसरी), २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको परिस्थितिमा देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ । पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले राजा फर्काउने कुरा केवल दिवा सपना मात्र भएको बताउनुभयो ।
अध्यक्ष नेपालले देश समाजवादी गणतन्त्रको यात्रामा अघि बढेको उल्लेख गर्दै अब जनतालाई अलमलमा पार्ने काम गर्न नहुने बताउनुभयो । देशमा अराजकता बढ्दा सरकारले केही गर्न नसकेको उहाँको आरोप थियो ।
अध्यक्ष नेपालले भन्नुभयो, “कुनै पनि वादीको नाममा भएको आन्दोलनले मच्चाएको अराजकताले आम जनमानसमा त्रास सिर्जना गरेको छ ।”
नेपाली समाजवादको स्थापना गर्न मदन भण्डारीको योगदान उल्लेख्य रहेको उल्लेख गर्दै उहाँले शहीदको योगदानलाई सम्झिन आग्रह गर्नुभयो । “उद्देश्य सही छ भने अगाडि बढ्ने बाटो पनि सही हुनुपर्छ”, अध्यक्ष नेपालले भन्नुभयो ।
–––
प्रतिकृया दिनुहोस