• बिहीबार-बैशाख-४-२०८२

काठमाडौंको वायु प्रदूषण : 'कालो कपडा क्रान्ति' कल्किजम रिसर्च सेन्टरको कुरा सुन्नुस्(भिडियाे)


काठमाडौं, चैत २६ – कल्किजम रिसर्च सेन्टरले काठमाडौं उपत्यकाको वायु प्रदूषण २ देखि ३ महिनाभित्रै नियन्त्रणमा लिन सकिने दाबी गर्दै विशेष कार्ययोजना सार्वजनिक गरेको छ। सेन्टरका संस्थापक जय साहले काठमाडौंको वायु गुणस्तर सुधार गर्न सस्तो, सरल र प्रभावकारी उपायहरू प्रस्तुत गर्दै सरकारले चासो देखाएमा उल्लेखनीय सुधार गर्न सकिने बताए।

 

कार्यक्रममा बोल्दै साहले बाग्मती जस्ता नदी किनारमा प्लास्टिक सुरुङ निर्माण गर्न सुझाव दिए। उनका अनुसार यस्ता सुरुङहरूले धुलो, फोहोर र धुवाँको बहाव नियन्त्रण गर्न सहयोग पुर्‍याउनेछन्।

साहले 'कालो कपडा क्रान्ति' नामक अभियानमार्फत चोक, गल्ली र सडकमा ठूला कालो पर्दा झुन्ड्याउन प्रस्ताव राखे। “कालो रङले पिएम २.५ लगायतका सूक्ष्म कणहरू अवशोषित गर्छ,” भन्दै उनले यो सस्तो, सजिलो र तत्काल लागू गर्न मिल्ने उपाय भएको बताए।

 

यसबाहेक, काठमाडौंका प्रत्येक घरको छतमा वायु फिल्टर राख्ने अभियान सुरु गर्नुपर्नेमा पनि उनको जोड थियो। “घरको पानी ट्यांकी छेउमा सस्तो एयर फिल्टर राख्न सकिन्छ,” उनले भने।

 

जय साहले दुई वर्षअघि नै काठमाडौंको वायु गुणस्तर खस्कँदै गएको चेतावनी दिएको स्मरण गराउँदै, सरकारले आफ्ना सुझावमा ध्यान नदिएकोमा गुनासो गरे। उनले भने, “हाम्रो योजनाले कार्यान्वयन पाउन एक वर्ष लाग्न सक्छ, तर सफल भएमा काठमाडौंको हावा फेरि सय वर्षअघिको जस्तै बनाउने सम्भावना छ।”

 

उनले 'वर्क विथ एन्ड वाकिङ डिस्टान्स ल' भन्ने अवधारणा अघि सार्दै, यसले ट्राफिक घटाउने र हरियाली बढाउने बताए।

 

रिसर्च सेन्टरमा अर्थशास्त्री, चिकित्सक र इन्जिनियरहरूको सहभागिता रहेको जानकारी दिँदै साहले सरकारले प्रदूषण न्यूनीकरणका लागि छुट्याएको २५ अर्ब रुपैयाँमध्ये आफुले अघि सारेको योजनालाई कार्यान्वयन गर्न ५० करोड मात्र पर्याप्त हुने दाबी गरे।

 

कार्यक्रममा बोल्दै राकेश कुमार देवले सवारी साधनबाट उत्पन्न हुने धुलो र धुवाँ वायु प्रदूषणको प्रमुख कारण भएको उल्लेख गर्दै यस्ता साधनलाई नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। देवका अनुसार हाल देशभर खपत हुने पेट्रोलियम पदार्थमध्ये ८० प्रतिशत सवारीसाधनमा खर्च हुने गरेको छ।

प्रतिकृया दिनुहोस