• मंगलबार-चैत-१९-२०८१

एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय


काठमाडौं ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक हप्ता थप गर्ने निर्णय गरेको छ ।


आइतबार भर्चुअल रुपमा सम्पन्न समितिको १३ औं बैठकले त्यस्तो निर्णय गरेको हो । यसअघि सदस्यताको लागि आवेदन दिने मिति मार्च ३१, २०२५ सम्म तोकिएकोमा  अब अप्रिल ७, २०२५ (नेपाली समय अनुसार २३ः५९ सम्म) उच्चस्तरीय समितिको  वेबसाइटमा गएर सदस्यताका लागि आवेदन दिन पाइने  छ ।


बैठकले  अहिलेको विशेष परिस्थितिका कारण  एमआईएस सिस्टममा दर्ता  भएका र आजीवन सदस्यता लिएका सबै सदस्यहरुलाई पनि अनिवार्यरुपमा  उच्चस्तरीय समितिको वेबसाइटमा दर्ता हुनु पर्ने निर्णय गरेको छ  ।


साथै, बैठकले आउँदो मे ३–५, २०२५ मा काठमाडौँमा हुन गैरहेको एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रुपमा भाग लिने  प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि शुरु गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनमा डेलिगेट्सको रुपमा सहभागी हुन चाहने सबै पंजीकृत सदस्यहरुले अप्रिल २२, २०२५ सम्म डेलिगेट्स बन्नका लागि सबै प्रक्रिया पूरा गरेर १ सय अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्ने छ ।


उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष घलेले हालै मध्यपूर्व र युरोपका विभिन्न देशमा गरेको भ्रमणबारे जानकारी गराएका थिए । त्यस्तै आर्थिक, विधान, सदस्यता वितरण एवम् प्रचार प्रसार उपसमितिका संयोजकहरुले आ-आफ्नो उपसमितिका गतिविधिहरूबारे जानकारी गराएका थिए  ।


उच्चस्तरीय समितिको १३औं बैठकमा सहभागी कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुले मे महिनामा काठमाडौँमा हुने महाधिवेशनलाई सफल बनाउन  सरकारको तर्फबाट आवश्यक सहजीकरण भइरहेको बताए  । साथै, विधानमा उल्लेखित कार्यक्षेत्र (टिओआर) को विषयमा सहजीकरण गर्न उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरलाई जिम्मा दिने निर्णय गरिएको छ ।

 

एनआरएनए उच्चस्तरीय समितिले समस्त गैर आवासीय नेपालीहरुलाई सदस्यता प्रक्रियामा सहभागी हुन तथा महाधिवेशनको तयारीमा सहयोग गर्न आग्रह पनि गरेको छ ।
 

 

प्रतिकृया दिनुहोस