• सोमबार-चैत-१८-२०८१

राजतन्त्रवादी प्रदर्शन उग्र भएपछि सरकारको कर्फ्यू घोषणा, सेना परिचालन

निजी निवास ताेडफाेड, पसलहरू लुटपाट, सरकारी सम्पत्ति तोडफोड

काठमाडौं, चैत १५ – नेपालका विभिन्न स्थानमा राजतन्त्र पक्षधर समूहहरूले उग्र प्रदर्शन गरेपछि सरकारलाई कर्फ्यू घोषणा गर्न बाध्य बनाएको छ। स्थिति नियन्त्रण बाहिर जाने खतरा देखिएपछि नेपाली सेना समेत परिचालन गरिएको छ।

  यी हुन् काठमाडौंमा कर्फ्यू आदेश जारी भएका क्षेत्रहरु  

 

सरकारी निकायका अनुसार राजधानी काठमाडौंसहित केही प्रमुख शहरहरूमा राजतन्त्र पुनःस्थापनाका माग राख्दै प्रदर्शनकारीहरूले तोडफोड, काठमाडाैं काेटेश्वर भाटभटेनीमा पनि सामान्य ताेडफाेड र लुटपाट र अराजक गतिविधि गर्न थालेपछि सुरक्षालाई मजबुत बनाउन सेना परिचालन गरिएको बताइएकाे छ।

ट्याङ्क र बख्तरबन्द गाडी सहित सेना परिचालन


प्रदर्शन हिंसात्मक मोडतर्फ गइरहेको र सुरक्षाकर्मीमाथि आक्रमणका घटनाहरू बढेको भन्दै सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको हो । सेनाले ट्याङ्क र बख्तरबन्द गाडी सहित कर्फ्यू क्षेत्रहरूमा गस्ती गरिरहेको छ।

 

स्रोतका अनुसार, कर्फ्यू मुख्य रूपमा दंगा ग्रस्त क्षेत्र र   काठमाडौँ उपत्यकाका संवेदनशील क्षेत्रहरू केही स्थानहरूमा लागू गरिएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीले भने, "जनताको सुरक्षालाई ध्यानमा राख्दै सरकारले कर्फ्यू आदेश जारी गरेको हो। कानून हातमा लिने कुनै पनि गतिविधि सह्य हुनेछैन।"

 

प्रदर्शन किन उग्र बन्यो?


राजतन्त्र पुनःस्थापनाका पक्षधरहरू विगत केही हप्तादेखि सडक आन्दोलनमा छन्। उनीहरूले वर्तमान शासकीय प्रणाली र सरकारविरुद्ध नाराबाजी गर्दै नेपाललाई पुनः राजतन्त्रतर्फ फर्काउनु पर्ने माग गर्दै आएका छन् । सुरक्षाकर्मीहरूलाई चुनौती दिने गरी केही समूहहरूले निजी निवास ताेडफाेड, पसलहरू लुटपाट, सरकारी सम्पत्ति तोडफोड गर्न थालेपछि सरकारले कडा कदम चालेको बताएकाे छ ।

सरकारको चेतावनी


गृह मन्त्रालयले कर्फ्यू क्षेत्रहरूमा अनावश्यक आवत-जावत नगर्न अनुरोध गरेको छ। सुरक्षाबललाई देख्दा अराजक गतिविधि नगर्न चेतावनी दिँदै सरकारले दंगामा संलग्न व्यक्तिहरूमाथि कडा कानूनी कारबाही गर्ने जनाएको छ।

 

सुरक्षाकर्मीहरूका अनुसार स्थिति अझ जटिल बन्न सक्ने सम्भावना रहेकाले देशभर सेना उच्च सतर्कतामा राखिएको छ। हालसम्म कर्फ्यू उल्लंघन गरेको आरोपमा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ।

 

स्थिति नियन्त्रणमा आउन समय लाग्ने अनुमान गरिएको छ। सरकार, प्रदर्शनकारीहरू, र सर्वसाधारणबीच तनाव कम गर्न कुनै वार्ता वा समाधानको पहल हुनेछ वा प्रदर्शन अझै चर्किनेछ भन्ने विषय भने अझै अनिश्चित छ।

(तस्बिर: नेपाल न्यूज बैंक)


 

प्रतिकृया दिनुहोस