• सोमबार-चैत-१८-२०८१

वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू

 

वीरगन्ज । वीरगन्जस्थित वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रविधिबाट इस्केमिक स्ट्रोक (पक्षाघात ) लकवा)को उपचार सुरू भएको छ ।

 

अस्पतालका प्रमुख डा श्यामबाबु प्रसादले थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार सुरू भएको जानकारी दिएका हुन् । यस प्रविधिबाट उपचार हुनु मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धी भएको उनले दाबी गरे । 

 

डा प्रसादले वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा हालसम्म तीन जना बिरामीलाई थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार गरिसकेको स्पष्ट पारे । यसअघि थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार वीरगन्जमा नभएको बताउँदै चिकित्सा क्षेत्रका लागि एउटा ठूलो कदम भएको उनको भनाइ छ ।

 

थ्रोम्बोलाइसिस एउटा यस्तो चिकित्सा प्रविधि हो, जसमा मस्तिष्कमा रक्तसञ्चार बन्द गर्ने रगतको डल्लो (मस्तिष्कमा जमेको रगत) हटाउन अथवा पगाल्न औषधी प्रयोग गरिन्छ । थ्रोम्बोलाइसिस इस्केमिक स्ट्रोकको उपचारका लागि अति नै प्रभावकारी मानिन्छ । मस्तिष्कमा रगत पुर्‍याउने धमनीमा अवरोध भएपछि इस्केमिक स्ट्रोक हुने गरेको उनले बताएका छन् ।

 

डा प्रसादले थ्रोम्बोलाइसिस उपचारका लागि बिरामीले लक्षण देखिएको साढे चार घण्टाभित्र अस्पताल पुग्नुपर्ने बताएका छन् । स्ट्रोकका लक्षणहरू जस्तै अचानक कमजोरी, बोल्न गाह्रो हुने वा अनुहार बाङ्गिनेजस्तो लक्षण देखिएमा तुरुन्त अस्पतालमा आउन उनले आग्रह गरेका छन् ।

 

अन्य प्रविधिबाट उपचारको तुलनामा थ्रोम्बोलाइसिस विधि छिटो र सस्तो भएकाले उनले बताए। 'हामीले उन्नत उपचारलाई सिंगो प्रदेशका बिरामीका लागि सस्तो र पहुँचयोग्य बनाउन खोजेका छौं,' डाक्टर प्रसादले भने ।

 

डा प्रसादले थ्रोम्बोलाइसिस प्रक्रियाबारे विस्तृत जानकारी दिँदै उपचारमा रगतको डल्लो हटाउने,पगाल्ने औषधी अल्टेप्लेस वा अन्य विकल्पहरू बिरामीको रगतमा इन्जेक्सनमार्फत दिइने बताए । थ्रोम्बोलाइसिस प्रक्रियाबाट बिरामीको उपचार गर्नुपूर्व विभिन्न जाँचहरू आवश्यक रहेको समेत जानकारी दिए । उनले उपचारको सम्भावित जोखिमहरूबारे पनि चर्चा गर्दै यसमा विशेष गरी मस्तिष्कमा रक्तस्राव हुने खतरा हुन सक्ने उनले बताए ।

 

साथै, हेमोरेजिक स्ट्रोक (रक्तस्रावबाट हुने स्ट्रोक), हालै शल्यक्रिया गरेका बिरामी वा रक्तस्रावको जोखिम बढाउने औषधी खाइरहेका बिरामीहरूका लागि थ्रोम्बोलाइसिस उपचार उपयुक्त नहुने उनले बताए । 'बिरामीको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो,' उनले भने ।

 

थ्रोम्बोलाइसिस प्रविधिबाट उपचार नेपाल सरकारबाट स्वीकृत भएको र विश्वव स्वास्थ्य सङ्गठनले समेत मान्यता दिएको उनले जानकारी गराएका थिए । बजारमा उपलब्ध अन्य थ्रोम्बोलाइटिक औषधीहरूको विकल्प पनि रहेको उनले उल्लेख गरेका थिए ।

 

वीरगन्जमा थ्रोम्बोलाइसिसको सुरुवातलाई यहाँको स्वास्थ्य क्षेत्रमा एउटा कोसेढुंगा मानिएको छ । इस्केमिक स्ट्रोक उपचारका लागि बिरामीहरूलाई अब राजधानी काठमाडौं अथवा भारतका ठूला सहर जानुपर्ने बाध्यता अन्त्य भएको प्रसादले दाबी गरेका थिए ।

 

तीन जना बिरामीको सफल उपचारबाट सुरुवात भएको बताउँदैअस्पतालको क्षमता विस्तार र थप कर्मचारीलाई तालिम दिने प्रसादले प्रतिबद्धता व्यक्त गरे । स्ट्रोक उपचारलाई अझ सुधार गर्न अन्तर्राष्ट्रिय चिकित्सा संस्थाहरूसँग सहकार्य गर्ने प्रयास जारी रहेको उनले जानकारी दिए ।

 

इस्केमिक स्ट्रोक (लकवा) के हो?

 

इस्केमिक स्ट्रोक एक प्रकारको पक्षाघात/लकवा हो । मस्तिष्कमा रक्त प्रवाह अवरुद्ध भएर इस्केमिक स्ट्रोक हुन्छ । यो प्रायः रक्त नलीमा रगतको डल्लो बनेर वा कुनै अवरोधले गर्दा उत्पन्न हुन्छ, जसले मस्तिष्कको कुनै भागमा अक्सिजन र पोषण पुग्नबाट रोक्छ । अक्सिजनको कमीले मस्तिष्कका कोशिकाहरू छिट्टै मर्न थाल्छन्, जसले समयमै उपचार नभएमा स्थायी क्षति वा मृत्युसम्म निम्त्याउन सक्छ । 

 

इस्केमिक स्ट्रोकका मुख्य कारणहरूमा मस्तिष्कको रक्त नलीमा डल्लो बन्नु (थ्रोम्बोसिस), शरीरको अन्य भागबाट डल्लो मस्तिष्कमा पुग्नु (एम्बोलिज्म), वा कोलेस्ट्रोल जमेर रक्त नली साँघुरिनु (एथेरोस्क्लेरोसिस) समावेश छन् ।

 

यसका लक्षणहरूमा शरीरको एक भाग कमजोर हुनु वा पक्षाघात, बोल्न र बुझ्न गाह्रो हुनु, दृष्टिमा समस्या, टाउको दुख्नु, चक्कर लाग्नु र हिँड्न कठिनाइ हुन्छ । इस्केमिक स्ट्रोकको उपचारका लागि रगत पातलो बनाउने वा डल्लो हटाउने औषधी वा शल्यक्रियामार्फत् अवरोध हटाउने प्रक्रिया अपनाइन्छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस