• आइतबार-चैत-१०-२०८१

नम्बर सात-बैद्यनाथ बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१’ को रनिङ्ग ट्रफी 

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८१’ को रनिङ्ग ट्रफी नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले जितेको छ । ८ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १६ पदकसहित सो बाहिनी प्रथम भएको हो ।


त्यसैगरी नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही ८ स्वर्ण, ५ रजत र २ कास्यसहित दोस्रो भएको छ भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी ४ स्वर्ण, ७ सजत र ८ कास्यसहित तृतीय भएको छ ।


२०८१ चैत ८ गते शुक्रबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रतियोगिताको समापन गर्नुकासाथै बिजयी टिम, खेलालीहरुलाई ट्रफी, मेडल प्रदान गर्नुको साथै उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।


समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिमा सामूहिक भावनाको विकास गर्नुको साथै अनुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


उहाँले यस प्रकारको खेलकुदले सशस्त्र प्रहरी कर्मचारीहरुमा भाइचाराको भावना बढाउनुको साथै कार्यक्षेत्रमा परिचालन हुँदा राष्ट्रसेवकहरुको मनोबल उच्च भई उत्कृष्ट कार्यसम्पादन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


समापन समारोहमा भएको फुटबल प्रतियोगितामा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं. १ बराह बाहिनी मुख्यालय सुनसरीलाई ट्राइबेकरमा ५–४ को गोल अन्तरले पराजित गरी प्रथम भएको छ ।


नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत ३ गतेदेखि संचालन भएको प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु गरी नौ वटा टिमको सहभागिता रहेको थियो भने प्रतियोगितामा फुटबल, भलिबल र एथलेटिक्स विधाका खेलहरु समावेश गरिएको थियो ।


यसैगरी २०औं राष्ट्रिय महिला कवड्डी प्रतियोगितामा उपाधि जित्न सफल नेपाल एपीएफ क्लबका महिला कवड्डी खेलाडीहरुलाई सोही समारोहमा सम्मान गरिएको थियो ।


कार्यक्रममा अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस