काठमाडौं । शंकरदेवका स्ववियु सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियनको चुनावविरुद्ध तालाबन्दी गरिएको भन्दै आपत्ति जनाएका छन् । त्रिवि तालिका अनुसार गत मंगलबार स्ववियु निर्वाचन हुन पर्ने भए पनि यही २७ गतेदेखि विभिन्न संगठनहरूले तालाबन्दी गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
विद्यार्थीको आवाज मुखरित गर्ने साझा संस्था स्ववियु निर्वाचन आवश्यक र अपरिहार्य रहेको उनको जिकिर छ । 'शंकरदेव क्याम्पसमा विभिन्न संगठनले ताला लगाएको धेरै दिन भइसक्यो। क्याम्पस प्रशासन र निर्वाचन समिति मौन छ । स्ववियु शंकरदेव क्याम्पसको एक मात्र एजेण्डा निर्वाचन हुनुपर्छ भन्ने हो । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो,' उनले भनेका छन् ।
निर्वाचनबाट भाग्नु भनेको हारको मानसिकता भएको उपाध्यायले बताएका छन्। निर्वाचन प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासन र निर्वाचन समितिलाई आफूहरू नेतृत्वको स्ववियुले जस्तो सुकै सहयोग गर्ने उनको जिकिर छ ।
'विद्यार्थीको दु:ख सुखको सारथी, शिक्षाको प्रायका रुपमा रहेको स्ववियु निर्वाचन कुनै बाहानामा रोक्न पाइदैन। क्याम्पसमा ताला लगाउने सम्पूर्ण संगठनलाई सहमति, सहकार्य र समन्वय ल्याई निर्वाचन प्रक्रिया अगाढि बढाउन स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनलाई अनुरोध गर्दछु,' उनले भनेका छन् ।
निर्वाचन गर्न नसक्ने भए उक्त निर्वाचन समिति खारेज गरी नयाँ निर्वाचन समिति गठन गरी अगाडि बढ्न क्याम्पस प्रमुख र प्रशासन समक्ष उनको आग्रह छ। उनले यसका साथै स्ववियु निर्वाचन रोकिएका अन्य क्याम्पसमा पनि अविलम्ब निर्वाचन गर्न आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस