• शुक्रबार-चैत-८-२०८१

केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न


खोटाङ, ७ चैत : यहाँको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविरमा तीन सय ९२ जनाले उपचार गराएका छन् । 

 

नेपाल नेत्रज्योति सङ्घ खोटाङ र केपिलासगढी गाउँपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा यही चैत ४, ५ र ६ गते सम्पन्न शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि उपचार, चस्मा वितरण गरिएको छ ।

 

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय १० जनालाई निःशुल्क औषधि वितरण, ३४ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजुले जानकारी दिनुभयो । 

    
शिविरमा सगरमाथा चौधरी आँखा अस्पतालका मुख्य शल्यचिकित्सक दीवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख नेत्र अधिकृत हरिहर श्रेष्ठसहित १५ जनाको टोलीले उपचार गरेको हो । 

 

नेत्रज्योति सङ्घले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही चैत ९, १० र ११ गते र हलेसी तुवाचुङ नगरपालिकामा १४, १५ र १६ गते शिविर आयोजना गरेको छ । 
---

 

 

प्रतिकृया दिनुहोस