• बिहीबार-चैत-७-२०८१

रामेछापवासीले उपयोग गर्न नपाएको मन्थली विमानस्थल, विदेशीका लागि सीमित


रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा विमानस्थल छ । विमानस्थल सञ्चालनमा पनि छ । तर यो विमानस्थल रामेछापवासीलाई भने ‘कागलाई बेल पाक्यो हर्ष न विष्मत’ जस्तै छ । 


काठमाडौंबाट रामेछापसम्म सडक नजोडिँदासम्म काठमाडौं आउजाउ गर्ने एक मात्र विकल्पको रूपमा रहेको विमानस्थलबाट अहिले रामेछाप–काठमाडौं यात्रा गर्छौँ भन्दा पनि रामेछापवासीले यात्रा गर्न पाउँदैनन् । विमान सेवा प्रदायक कम्पनीहरूले नियमित उडान सेवा राख्न नमान्दा विमानस्थल चार्टर उडान गर्ने विमानस्थल मात्र बनेको छ । 

 

सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई दुई सिजनमा मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । त्यसैले यो विमानस्थल विदेशीको लागि मात्र प्रयोगमा आउने विमानस्थल भएको छ । 


२०३२ सालमा निर्माण सुरु भई २०३४ सालमा  निर्माण सम्पन्न भएको यो विमानस्थल निर्माणमा रामेछाप जिल्लावासीको ठुलो श्रम परेको छ । गाउँ गाउँबाट जिल्लावासीले आएर श्रमदान गरी विमानस्थल निर्माण गरेका थिए । तर अहिले विपत्तिका समय, दुर्घटनामा परेका घाइते तथा जटिल बिरामीले समेत मन्थली विमान स्थलबाट काठमाडौँ जान नपाउने अवस्था बनेको छ । 


कम्तीमा हप्ताको एक दिन मन्थली–काठमाडौँ उडानको व्यवस्था गर्न पहल गरिँदै आएको भएपनि सेवा सञ्चालकहरूले बेवास्ता गरेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ बताउँछन् । ‘विमानको सिट भरिएन भने खाली रहेको सिटको पैसा नगरपालिकाले तिर्नुपर्छ भन्ने सम्मका गैरजिम्मेवार प्रस्ताव आए, व्यापार गर्ने कम्पनीको व्यापार भए भने कहाँ सरकारले पैसा तिरिदिन सक्छ ?’ श्रेष्ठले भने । 


विदेशीसँग चर्को भाडा लिएर मन्थलीबाट सोलु पर्यटक उडाउने विमान कम्पनीहरू स्थानीयलाई भने भाडा कम उठ्ने भन्दै सेवा दिन तयार छैनन् । नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ गतेसम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।

 

सगरमाथा क्षेत्र घुम्न आएका विदेशी पर्यटकलाई मात्रै मन्थलीबाट लुक्ला बोक्ने र पैसा कमाउने विमान सञ्चालक कम्पनीले सामाजिक उत्तरदायित्वको काम भने बिर्सिएका छन् । पर्यटकको सिजनमा तारा एयर, समिट एयर र सिता एयरले मन्थली–लुक्ला उडान गर्ने गर्दछन् । ती विमान कम्पनीको काठमाडौं–रामेछाप उडान सञ्चालनको अनुमति पटक पटक स्वीकृत भए पनि सेवा भने दिएका छैनन् । 


आफ्नै घर अगाडि विमानस्थल छ । विमानस्थलबाट विमान पनि उडान र अवतरण गरिरहेका छन् । तर रामेछापवासीको लागि भने यो विमानस्थल काम लागेको छैन । केवल पर्यटकहरूले फालेका पानीको बोतल, फोहर र प्लास्टिक उठाउन बाध्य छन् स्थानीयवासी ।
 

 

 

प्रतिकृया दिनुहोस