बेइजिङ, ४ चैत (रासस/एएनआई) : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पोडकास्ट अन्तर्वार्तामा चीन–भारत सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सकारात्मक टिप्पणीको प्रशंसा गर्दै आपसी सफलतामा साझेदार हुनु र ‘ड्र्यागन–हात्ती नृत्य’ सहयोग प्राप्त गर्नु दुई देशका लागि एक मात्र सही विकल्प भएको बताउनुभएको छ ।
लेक्स फ्रिडम्यान पोडकास्टमा प्रधानमन्त्री मोदीको हालैको टिप्पणीमा मिडियालाई सम्बोधन गर्दै माओ निङले चीन भारतसँग मिलेर आफ्ना नेताहरूद्वारा हासिल गरिएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन गर्न, कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवलाई विभिन्न क्षेत्र र तहहरूमा आदानप्रदान र सहकार्य अघि बढाउने अवसरका रूपमा लिन तथा चीन–भारत सम्बन्धको स्वस्थ र स्थिर विकासलाई बढावा दिन इच्छुक रहेको बताउनुभएको ग्लोबल टाइम्सले जनाएको छ ।
ग्लोबल टाइम्सका अनुसार माओले चीन–भारत अन्तरक्रियाको दुई हजार वर्षको इतिहासमा मैत्रीपूर्ण आदानप्रदान र आपसी शिक्षा मुख्यधारा रहेको र यसले विश्व सभ्यता र मानव प्रगतिमा महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
गत वर्ष अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसको कजानमा आयोजित ब्रिक्स शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको थियो । एआई अनुसन्धानकर्ता लेक्स फ्रिडम्यानसँगको आइतबारको पोडकास्टमा प्रधानमन्त्री मोदीले एक अर्काबाट सिक्ने र बुझ्ने महत्त्वलाई जोड दिँदै चीनसँग भारतको सम्बन्धबारे आशावाद व्यक्त गर्नुभएको थियो ।
चलिरहेको सीमा विवादका बावजुद प्रधानमन्त्री मोदीले आफूहरू बीच द्वन्द्वको कुनै वास्तविक इतिहास नभएको उल्लेख गर्दै दुई राष्ट्रबीचको प्राचीन सांस्कृतिक र सभ्यताको सम्बन्धलाई स्वीकार गर्नुभयो । उहाँले प्रतिस्पर्धा कहिल्यै द्वन्द्वमा परिणत नहुने कुरामा जोड दिँदै दुई देशबीच स्वस्थ प्रतिस्पर्धाका लागि पनि वकालत गर्नुभयो । यसबाहेक प्रधानमन्त्री मोदीले सीमामा सामान्य अवस्थामा फर्कने कुरा स्वीकार गर्नुभयो । दुई राष्ट्रले अब सन् २०२० भन्दा पहिलेको अवस्था पुनःस्थापित गर्न काम गरिरहेका छन् ।
“यो सत्य हो कि हामीबीच सीमा विवादहरू चलिरहेका छन् । र सन् २०२० मा सीमामा भएका घटनाहरूले हाम्रा देशहरूबीच उल्लेखनीय तनाव सिर्जना गरेका थिए । यद्यपि चीनका राष्ट्रपति सी जिनपिङसँगको मेरो हालैको भेटवार्तापछि हामीले सीमामा सामान्यतामा फर्किएको देखेका छौँ । हामी अब सन् २०२० अघिको अवस्थामा परिस्थितिहरू पुनःस्थापित गर्न काम गरिरहेका छौँ । विस्तारै तर निश्चित रूपमा, विश्वास, उत्साह, र ऊर्जा फर्किनेछ । तर, निश्चय नै, यसले केही समय लिनेछ किनकि पाँच वर्षको अन्तराल भएको छ”, मोदीले भन्नुभयो ।
“भविष्यमा हाम्रो सम्बन्ध उत्तिकै बलियो रहनुपर्छ । यो बढ्दै जानुपर्छ । अवश्य पनि भिन्नताहरू स्वाभाविक छन् । जब दुई छिमेकी देश अस्तित्वमा रहन्छन्, कहिलेकाहीँ असहमतिहरू हुनु अनिवार्य छ । परिवारभित्र पनि, सधैँ सबै कुरा ठीक हुँदैन । तर हाम्रो ध्यान यी भिन्नताहरू विवादमा परिणत नहोस् भन्ने कुरामा केन्द्रित छ”, मोदीले भन्नुभयो ।
–––
प्रतिकृया दिनुहोस