काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवर आज २०८१ चैत्र ४ गते राति १२ बजेबाट ३० वर्षे सेवा अवधिकाकारण अनिवार्य अवकासमा जानेछन् । उनीसँगै सेवा अवधिका कारण एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, जनकराज भट्टराई र डीआईजीहरू भोला बहादुर रावल, गणेश चन्द, ध्रुवराज राउत पनि अनिवार्य अवकासमा जाँदैछन् ।
नेपाल प्रहरीकाे हेडक्वार्टरमा आज चैत ४ गते ४ बजे विदाई कार्यक्रम राखिएकाे छ । त्यसकारण सरकारले नेपाल प्रहरीको भावी आईजीपीमा संभवत आज २०८१ चैत ४ गते सोमवार साँझ बस्ने मन्त्रिपरिषद बैठकबाट तीन जना एआईजीहरुमध्ये वरिष्ठ एआईजीपी दीपक थापालाई बढुवा गर्ने तयारी गरिरहेको बताइन्छ ।
केन्द्रीय अनुसन्धान व्युरोमा कार्यरत एआइजी प्रमुख दीपक थापा वरिष्ठकाे पंक्तिमा रहेका छन् । त्यसपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख टेकबहादुर तामाङ तेस्रो नम्बरका दावेदार रहेका छन् ।
क्षमता, दक्षता, कार्य अनुभव, नेतृत्व क्षमता र जेष्ठताका आधारमा केन्द्रीय अनुसन्धान व्युरोका एआईजी थापालाई भावी आईजीपीमा बढुवा गर्ने तयारी भइरहेको स्रोतको दावी छ । भावी आइजीपीमा बढुवा हुन एआईजी थापा, गिरी र तामाङबीचमा तीव्र प्रतिस्पर्धा भने रहेको छ ।
तरपनि मुख्य प्रतिस्पर्धा थापा र गिरीका बिचमा हुने देखिएको छ । एआजीपी थापाले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मन काम गरेरै जितिसकेको स्रोतले जानकारी दिएको छ । दल र नेताहरुसँगको निकटता, संगत र जनसम्पर्कमा कमजोर कडी मानिए पनि लामो समय विशेष व्युरोमा काम गरेका एआईजी गिरी पनि प्रहरीमा क्षमता, दक्षता, कार्यसम्पादन क्षमता उत्कृष्ट, अन्तर्राष्ट्रिय आतंकवाद, सीमा अपराधमा विशेष दख्खल भएका अधिकारी मानिन्छन् । उनले काठमाडौं जिल्लाको प्रमुख, कोशी प्रदेश प्रहरी प्रमुख, विशेष व्युरो प्रमुख र एकेडेमी प्रमुख भएर काम गरिसकेका छन् ।
कांग्रेसका नेता र सभापति देउवासँग राम्रो सम्बन्ध भएका गिरी पूर्व प्रधान न्यायाधीश केदार गिरीका छोरा हुन् । त्यसकारण नेपाली कांग्रेसले नै गृह मन्त्रालयको नेतृत्व गरेकोले पनि यसपटक विशेष परिस्थितिले गर्दा आईजीपीमा बढुवाका लागि बढी नै दवाव रहेको स्रोत बताउछ ।
एआईजी तामाङलाई भने पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र झापाका एमालेका केही नेताहरूले भावी आईजीपीमा बढुवा गरेर आदिवासी जनजाति समुदायको विश्वास जित्न प्रधानमन्त्री ओलीलाई दवाव दिएको बुझिएको छ ।
सत्तारूढ दल नेपाली कांग्रेस र सरकारको नेतृत्व गरेको नेकपा एमालेका बीचमा प्रहरीको आईजीपी, नेपाल राष्ट्र बैंकको गभर्नर र २०८२ बैशाख ५ गते रिक्त हुने निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको नियुक्ति र सिफारिसमा भागबन्डा हुनेगरी सन्तुलन मिलाउने तयारी भइरहेको स्रोत बताउछ । कांग्रेसले यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ, नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्ति गराइसकेको छ ।
संभवत अब आज नया“ आईजीपीमा थापालाई नियुक्ति गर्ने एक किसिमको जेन्टलमेन्ट सहमति भइसकेको गृह स्रोतले दावी गरेको छ । त्यसैले आज चैत ४ गते सोमवार नेपाल प्रहरीले नयाँ आईजीपी पाउने प्रवल सम्भावना छ । त्यसपछि संगठनमा ६ एआईजी र चार डिआईजी पद रिक्त हुनेछ ।
रिक्त एआईजीपीमा सिनियर डीआईजीपीहरू चन्द्र कुवेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारीको बढुवा हुने सम्भावना देखिन्छ ।
एआईजीपीकाे ६ पद रिक्त हुने र प्रतिस्पर्धी डीआईजीपीहरू पनि ६ जना नै रहेकाले वरीयतामा काे कसरी एक नम्बरमा पर्ने भन्ने घमासान भिडन्त परिरहेकाे स्राेत बताउछ । बढुवामा एक नम्बर वरीयता कायम भएमा नेपाल प्रहरीकाे आगामी आईजीपी बन्ने आधार तयार हुन्छ ।
तर, नारायणकाजी श्रेष्ठ र रवी लामिछाने गृहमन्त्री हुँदा डीआईजी कार्की र डा. केसीले कांग्रेसविरूद्धकाे कदममा सहयोग गरेको आरोप लाग्ने गरेको छ । त्यसकारण उनीहरूलाई रोक्न दवाव परिरहेको स्रोत बताउछ । पूर्वाग्रही बनेर सरकारले कार्की र केसीलाई रोकेमा एआईजीमा बढुवा हुन २०५३ को राष्ट्रिय अनुसन्धान विभागबाट २०५८ पुसमा नेपाल प्रहरीमा नेपाली कांग्रेसले स्थानान्तरण गरेका डीआईजीहरू सिद्धिविक्रम शाह, उमाप्रसाद चतुर्वेदी, डम्बर बहादुर विक, हिमालय श्रेष्ठ र सुशील सिंह राठौर मध्येबाट पनि एआईजीपीमा बढुवा हुन सक्ने बताइन्छ । यो व्याचलाई २०५४ सालका व्याची डीआईजी कार्की, केसी र ०५३ को गुप्तचर टोलीका राजन अधिकारीले अगाडि नै बढुवा भएर टपेका थिए ।
त्यसैले एसएसपीसम्म सिनियर भएपछि डीआईजी बढुवामा पछि परेका शाह, चतुर्वेदी, विक, श्रेष्ठ र राठौर एआईजी बढुवाका लागि ठूला राजनीतिक दलका नेतादेखि शक्तिकेन्द्र धाएर चलखेल र दौडधुप गरिरहेको जानकार स्रोत बताउँछ । उनीहरुसहित डीआईजीहरू ईश्वर कार्की, दिनेश आचार्य, अरूण पौडेल, राजेन्द्र भट्ट र गोविन्द थपलिया पनि एआईजी बढुवाका लागि दौडधुप र कसरत गरिरहेका छन् । बढुवा समितिले अर्काे सातासम्ममा ६ एआईजी बढुवा सिफारिस गर्ने गृह मन्त्रालय स्रोतको बताएको छ ।
प्रतिकृया दिनुहोस