• बिहीबार-फाल्गुण-२९-२०८१

सेन्सरले फिल्म ‘राजागंज’ रोकेपछि दीपकराज र निश्चलको विरोध

 

काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो । 

 

सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरुमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको निर्देशक दीपक रौनियारले बताएका छन् । विशेषगरी बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’ को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको बताइएको छ ।

 

त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको छ । निर्देशक रौनियारका अनुसार बोर्डले प्रधानमन्त्री, कालो-गोरो जस्ता शब्द समेत नराख्न भनेको छ । 

 

फिल्मको बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको छ । तर, फिल्म सेन्सरमा अड्किएकाले प्रिमियर मात्र नभइ प्रदर्शन समेत अन्योलमा रहेको छ । कानुनमा सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्म देखाउन नपाइने व्यवस्था रहेपनि फिल्म सेन्सर हुनुभन्दा अगाडि नै इटहरी, विर्तामोड, जनकपुर, चितवन जस्ता सहरमा फिल्मको प्रिमियर शो आयोजना भइसकेको छ । प्रदर्शनउन्मुख फिल्म सेन्सरले रोकेपछि कलाकार, निर्माता निर्देशकहरुले भने आपत्ति जनाएका छन् ।

 

दीपक राज गिरीले सेन्सरको रोकेकोप्रति विरोध गर्नुपर्ने बताउँदै सामाजिक सञ्जालमा लेखेका छन्- 'सर ! सुन्नुस न सर ! जे भन्नु हुन्छ त्यो काट्छू सर ! रिलिज डेट नै फिक्स भैसक्यो सर ! हो ,यसरी सरका सर लगाएकोले नै सेन्सर भाको हो ! मिलेर बिरोध गरौ ।

 

त्यस्तै अर्का कलाकार तथा निर्माता निर्देशक निश्चल बस्नेतले पनि सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘सेन्सरले ‘राजागंज’लाई रोकेछ । सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? डिसक्लेमर नबुझ्ने, फिल्ममा देखाएको सबैकुरा वास्तविकता हो भनेर बुझ्ने, फिक्सनको अर्थ नबुझ्ने । यस्तै हो चाहिने योग्यता ? फिल्म जति नै रियालिस्टिक भए पनि रियल हुँदैन । यो कलाको एक काम हो । आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् । हाम्रो नेपालमा ।’

 

त्यसैगरी अर्का फिल्मकर्मी मनोज पण्डितले अब नेपालमा राजनीतिक विषयमा फिल्म नै बन्न नसक्ने स्थिति आएको बताएका छन् । उनले लेखेका छन्- ‘नेपालमा राजनीतिक विषयमा चलचित्र नै बन्न नसक्ने स्थिति आइसक्यो जबकि, आज देशको मुल समस्या नै राजनीतिसँग जोडिएको छ ।’

 

प्रतिकृया दिनुहोस