• मंगलबार-फाल्गुण-२०-२०८१

बाराको होटलमा प्रहरीको छापा, ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

 

रौतहट । बारा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ ।

 

प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटलमा छापा मारेर १७० ग्राम लागूऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा भारत बिहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत- ७ बस्ने  ३० वर्षीय रन्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सन्जीवकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

 

सोमबार दिउँसो अढाई बजे इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट गएको संयुक्त टोलीले टोलीले सिमरास्थित राज होटलको कोठा नम्बर १०६ मा छापा मारेर तीन जनालाई पक्राउ गरेको पण्डितले बताए । 

 

होटलमा छापा मारेर चेकजाँच गर्दा उनीहरूको साथबाट १७० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको प्रवक्ता पण्डितले बताए । ब्राउन सुगरसहित पक्राउ परेका तीनै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस