बारा, २०८१ फाल्गुण १९ – बारा जिल्लाको पथलैया चोक स्थित प्रहरी चौकीको प्रहरी टोलीले राजश्व छलीको आधा कराेड भन्दा बढीकाे सामान बरामद गरेको छ । मिति २०८१ फाल्गुन १९ गते प्र.स.नि. अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४४४७ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लोड गरिएको सामानमा अनियमितता भेट्टाएको हो।
प्रहरीले उक्त ट्रकको चेकजाँच गर्दा रू. ५३ लाख ४० हजार ९० रूपैयाँ बराबरको तस्करीकाे सामान बरामद गरेको छ, जुन बिलविजक भन्दा धेरै रहेको थियो। बरामद गरिएको सामान विभिन्न खुद्रा सामानहरूको रहेकाे छ, जुन राजश्व छलीका क्रममा भन्सार कर्मचारीहरूकाे मिलेमताेमा अवैध रूपमा तस्करी गरिएको पाइएको छ।
प्रहरी टोलीले सामान र ट्रकलाई नियन्त्रणमा लिई, तस्करी र राजश्व छलीका घटनामा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धान शुरु गरेको बताएकाे छ। बरामद गरिएको सामानलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।
बारा प्रहरीको अनुसार, उक्त ट्रक र सामानसँग सम्बन्धित थप अनुसन्धान गरिरहेको छ र संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी राखिएको छ। यस घटनाले बारा क्षेत्रका प्रहरी अधिकारीहरूलाई आपराधिक गतिविधिहरूको नियन्त्रणमा थप सतर्क रहन प्रेरणा दिएको छ।
बारा प्रहरीले यस प्रकारका राजश्व छली र तस्करीका गतिविधिहरूको विरुद्ध कठोर कारवाही गर्ने प्रतिबद्धता जनाएकाे छ ।
प्रतिकृया दिनुहोस