काठमाडौं । शहरी विकास मन्त्रालयअन्तर्गतका इन्जिनियर, सिनियर डिभिजनल इन्जिनियर, सुपरिटेन्डेन्ट इन्जिनियर, विभागको महानिर्देशक र विभिन्न प्रदेश तथा आयोजनाका प्रमुखहरूको सरूवामा उपप्रधान तथा मन्त्री प्रकाशमान सिंहभन्दा उनका स्वकीय सचिव युपी लामिछाने बढी हावी हुने गरेको गुनासाहरु प्राप्त भएका छन् । प्राविधिक कर्मचारीको सरुवा गर्दा दर्जाअनुसार दररेट तोकिएको स्रोत बताउछ । उनीहरुको सरुवा र थमौती गर्दा लामिछानेमार्फत राम्रै उठ्तीपुठ्ती हुने गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
मन्त्री सिंहका स्वकीय सचिव तथा नेविसंघका पूर्व नेता लामिछानेले मन्त्रीज्यूको आदेश भन्दै कार्यालय प्रमुख, आयोजना प्रमुख, प्रदेश कार्यालयका प्रमुख र महानिर्देशकहरूसँग निर्माण जारी रहेका योजनाहरुबाट कमिशनवापतको रकम भन्दै अग्रिम रुपमा असुल्ने गरेको आरोप छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन यतिखेर निमित्तको भूमिकामा सीमित हुन पुगेका छन् । विभाग मातहत निर्माण भइरहेका आयोजनाहरुको कमिशन वापतको उठ्तीपुठ्ती सवै मन्त्रालयले नै गरिरहेको विभाग स्रोत बताउछ ।
जसले गर्दा भवन विभाग, स्थानीय पूर्वाधार, उपत्यका विकास प्राधिकरण अन्तर्गत कार्यरत कर्मचारीहरूमा आतंक सिर्जना गरेको स्रोतले जानकारी दिएको छ । २०८१ माघ २६ गते पहिलो साता संघीय सरकारको प्रशासनिक निकाय सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालको चौथो तलामा एकाबिहानै लागलागी भएको थियो । सो चौथो तल्लामा हाल खानेपानी मन्त्रालय बसेको छ । त्यसमा पनि मन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएर धनमाल र महत्वपूर्ण कागजातको क्षति हुन पुग्यो । कसको कमजारीका कारण आगलागी हुन गयो त्यो अनुसन्धानकै विषय रहेको छ ।
तरपनि संघीय प्रशासनिक निकाय, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उप–प्रधानमन्त्री, मन्त्रीका निवास र सिंहदरवार सचिवालयको निर्माण र मर्मत सम्भारको जिम्मेवारी शहरी विकास मन्त्रालयमातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले पाएको छ । त्यसकारण पनि आगलागीको जिम्मेवारी उक्त कार्यालयले लिनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले दावी गरेको छ । भौतिक मन्त्रालयकोे भवन निर्माण गर्दा सुरुमा तीन तले रहेको थियो । तर, सो मन्त्रालयबाट ०६८ सालमा अलग रुपमा खानेपानी मन्त्रालय गठन गरिएको थियो । त्यसपछि भने एकतल्ला थप गरिएको जानकार स्रोत बताउँछ ।
तीन तल्लाको लागि विद्युत मिटर जडान, सोही अनुसारको तार र स्वीच राखिएको छ । चौथो तला निर्माण भएसँगै त्यही भोल्ट अनुसारको मिटर बक्स, एमसी, तार र स्वीच थप्नुपर्ने थियो । यी विषयलाई बेवास्ता गर्दै विद्युतको पावर बढाउँदा भार थेग्न नसक्दा आगलागी भएको जानकार स्रोतको भनाई रहेको छ । आगलागी हुन एक–दुई दिन अघिदेखि नै स्वीचमा गडबडी देखिएको बताइन्छ । तर, मन्त्रालयमा कार्यरत कर्मचारी, कार्यालय सहयोगीहरूले वेवास्ता गरेकै कारण आगलागी भएको बताइन्छ ।
समयमै कर्मचारीले ध्यान नदिंदा र समस्याको समाधान तत्कालै नगरेका कारण विदाका दिन २०८१ माघ २६ गते शनिवार आगलागी भएको थियो । समयमै दमकल सेना र प्रहरी सुरक्षाकर्मीहरु आएर आगो नियन्त्रण गरेकोले ठुलो क्षति हुन पाएन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मात्र पुरै सिंहदरवारमा आगो फैलिनबाट जोगियो । यसमा अर्को गम्भीर पक्ष चाहिं के छ भने संघीय व्यस्थापन कार्यालयले विद्युत सप्लाईको नियमित मर्मत सम्भार नगरी लापर्वाही गरेको कारण यस्तो खतरनाक घटना घटेको हो ।
जानकार स्रोतका अनुसार, सबै भिभिआईपी र भिआईपी निवास र संघीय सचिवालय सिंहदरवारको विद्युत मर्मत सम्भार लागि भन्दै १ करोड भन्दा बढी बजेट बिनियोजन गरिएको हुन्छ । विद्युत जडान र मर्मत सम्भारका लागि सचिवालयमा ५ जना इलेक्ट्रिसियनको दरबन्दी कायम गरिएको छ । उक्त जनशक्ति कार्यालयमा छ पनि । तरपनि सचिवालयले नियमित रूपमा विद्युतको मिटरको पावर बढाउने, एमसी नयाँ जडान गर्ने, विद्युत तारहरूको मर्मत, विद्युत जडानको अवस्था चेकजाँच गर्नुपर्नेमा कानमा तेल हालेर बसिरहेको घटनाबाट पुष्टि हुन्छ ।
उल्टै यी कार्यको लागि विनियोजित रुकमसमेत कार्यालयले विभिन्न सप्लाई र निर्माण कम्पनी र फर्महरूका संचालकबाट नक्कली भ्याट बिल ल्याएर भ्रष्टाचार गरेर सक्ने गरेको स्रोतको भनाई रहेको छ । मिलेमतोमा ८० प्रतिशत बजेट कर्मचारीले सकाएर भ्रष्टाचार गर्दै आएको स्रोतको दावी छ । कार्यालयमा इलेक्ट्रिसियनको दरबन्दी, पर्याप्त बजेट हुँदाहुँदै पनि कार्यालयले बिजुलीको मर्मत सम्भारको काममा ध्यान दिएको छैन । जसले गर्दा यस्ता किसिमका दुर्घटना हुने गरेको स्रोतको भनाई छ । (साँघु साप्ताहिक, २०८१ फागुन ५)
प्रतिकृया दिनुहोस