• शनिबार-फाल्गुण-१०-२०८१

पोखरामा जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

 

पोखरा । पोखरामा बिहीबार जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

 

पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले बिहीबार दिउँसो जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग १३ प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमाको मृत्यु भएको हो भने छोरा गम्भीर घाइते भएका छन् । 

 

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा निधन भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा गम्भीर घाइते भएका उनकै २६ वर्षीय छोरा मनोज गुरुङको अहिले पनि मेट्रोसिटी अस्पतालमा नै उपचार भैरहेको प्राप्त जानकारीमा उल्लेख छ ।  

 

सोही दुर्घटनामा सडक किनारमा रोकि राखेको ग ७ प ५२७४ नम्बरको स्कुटरमा पनि क्षति पुगेको प्रहरी स्रोतले जनाएको छ । घटनापछि जिप चालक, स्याङ्जा हरिनाश गाउँपालिका वडा नं १ का २५ वर्षीय निर्मल गुरुङलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस