बेरुत, लेबनान, ३ फागुन (रासस/एएफपी) : लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गर्ने २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक्रमणमा बलको निवर्तमान उप कमाण्डरसहित दुई शान्ति सेना घाइते हुनुभएको छ ।
संयुक्त राष्ट्र र लेबनानी अधिकारीहरूले आक्रमणको निन्दा गर्नुभएको छ । “लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,” आन्तरिक मन्त्री अहमद अल–हज्जरले शनिबार एक आपतकालीन सुरक्षा बैठक पछि पत्रकारहरूलाई बताउनुभयो । “यी बन्दीहरूले आक्रमण गरेका हुन् भन्ने होइन, तर यसको जिम्मेवार को हो भन्ने अनुसन्धानले देखाउँछ,“ उहाँले थप्नुभयो ।
उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर चोकबहादुर ढकाल घाइते हुनुभएको छ । साथै, लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ ।
युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताउनुभयो ।
प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गर्नुभयो । लेबनानका लागि संयुक्त राष्ट्र सङ्घका विशेष संयोजक जेनिन हेनिस–प्लास्चार्ट र युनिफिल कमाण्डर जनरल एरोल्डो लाजारोसँगको वार्तामा उहाँले दोषीहरूलाई पक्राउ गर्ने वाचा गर्नुभयो ।
---
लेबनानमा शान्ति सैनिकमाथि आक्रमण: नेपाली उपरथी चोक बहादुर ढकाल घाइते
प्रतिकृया दिनुहोस