लिस्बन । सर्वाधिक धनराशि १–१ करोड रुपैयाँ पुरस्कार भएको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन पोर्चुगलमा हुँदैछ ।
इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको उक्त शो को दोस्रो संस्करणको अडिसन यही फेब्रुअरी १६ मा पोर्चुगलको राजधानी लिस्बनमा हुन लागेको हो । अमेरिकाबाट सुरु भएको रियालिटी शो को अडिसन हाल पोर्चुगलमा गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
पोर्चुगलमा पहिलोपटक हुन लागेको अडिसनका लागि युरोपका विभिन्न मुलुकका गरि हालसम्म ४५ जना प्रतियोगीले आवेदन दिएको फाउन्डेसनकी युरोप संयोजक देवी गर्बुजामगरले जानकारी दिइन् । लिस्बनस्थित ’लभ लिस्बन’ रेष्टुरेन्टमा हुने अडिसनको तयारी अन्तिम चरणमा पूगेको मगरले बताए । अडिसनका लागि फाउन्डेसनको केन्द्रीय टोली अमेरिकाबाट पोर्चुगल आइसकेको उनले बताए ।
अमेरिका र क्यानडामा सम्पन्न भएको अडिसन बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ, जापान, दुबई, कतार, अष्ट्रेलिया र भारतमा अडिसनको तयारी भइरहेको संस्थाले जनाएको छ । यस्तै नेपालका लागि बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन गरिने बताइएको छ ।
विश्वभरबाट अडिसनमा छनौट हुने गायन तर्फका एक सय २० प्रतिभा र नृत्य तर्फका एक सय २० गरी कुल दुई सय ४० जना प्रतियोगीलाई फाउन्डेसनले अर्को चरणका लागि काठमाण्डौं लैजाने छ । नेपाल बाहिरको अडिसनमा भाग लिनका लागि १८ वर्ष उमेर पूगेको नेपाली मूलका नेपालीभाषी हुनुपर्ने र नेपालमा हुने अडिसनमा भाग लिनका लागि १६ वर्ष उमेर पुगेको हुनुपर्ने आयोजक संस्थाले जनाएको छ ।
विश्वभर छरिएर रहेका नेपाली प्रतिभाका कलाकारहरुबीच प्रतिस्पर्धा गराइने दुवै शोका विजेताले एक–एक करोड, उपविजेताले २५–२५ लाख र तेस्रो हुनेले १०–१० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि काठमाडौंमा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुङ निर्णायकको भूमिकामा रहनु हुनेछ । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायकहरुमा कलाकार मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा रहने फाउन्डेसनले जनाएको छ ।
विश्वभर छरिएर रहेका नेपाली समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरुको पहिचान गर्न र नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने अभियानका साथ विश्वस्तरीय रियालिटी शो को आयोजना गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले सन् २०२३ मा दुबै रियालिटी शो को पहिलो संस्करण सफतापूर्वक सम्पन्न गरेको थियो ।
प्रतिकृया दिनुहोस