• बुधबार-माघ-३०-२०८१

शिक्षिकाले तातो पन्युले गालामा डाम्दा बालक घाइते, प्रहरीले थाल्यो कारवाही

 

काठमाडौं । कक्षाकोठामा हो-हल्ला गरेको भन्दै तनहुँकी एक शिक्षिकाले एक जना बालकलाई गालामा तातो पन्युले डामेकी छिन् ।

 

भीमाद नगरपालिका-६ शान्तिनगरकी ३४ वर्षीया सुष्मा श्रेष्ठले प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत् एक बालकलाई खाना पकाउने पन्युले गालामा डामेर घाइते बनाएकी हुन् ।

 

मंगलबार साढे ११ बजे शिक्षिका श्रेष्ठले कक्षामा हो-हल्ला गरेको भन्दै सजाय दिने बहानामा तातो पन्युले बालकको गालामा डामेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।

 

‘शिक्षिकाले गालामा पन्युले डाम्दा बालक घाइते भएको भनी सामाजिक सञ्जालमा प्रसारण भएपछि शिक्षिकालाई पक्राउ गरिएको छ,’ अधिकारीले भने । शिक्षिका श्रेष्ठले अन्य दुई जना विद्यार्थीलाई समेत सोही प्रकृतिले डामेको खुलेको छ ।

 

यसरी शिक्षिकाले सजायको नाममा यातना दिएपछि पीडित बालकका अभिभावक प्रहरीमा जाहेरी दिन पुगेका थिए ।

 

उक्त स्कुलकी लेखापालसमेत रहेकी शिक्षिकालाई बुधबार नियन्त्रणमा लिएर बालबालिकाविरूद्धको कसुरमा प्रहरीले अनुसन्धान थालेको छ । श्रेष्ठलाई जिल्ला अदालत तनहुँले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिकृया दिनुहोस