• बिहीबार-माघ-२४-२०८१

पूर्वाधार विकासमा अवरोध नगर्न महासंघ अध्यक्ष ढकालको आग्रह

स्थानीयकाे राेजगारीका लागि पाथीभरा केवलकार

 

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नर्गन आग्रह गरेका छन् ।


अध्यक्ष ढकालले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा आम नागरिकलाई आग्रह समेत  गरेका छन् ।


सरकारले आर्थिक विकासको लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सन्दर्भमा पछिल्लो समय पूर्वाधारको विकास रोक्न विभिन्न तहबाट भइरहेका गतिविधिहरु खेदजनक रहेको अध्यक्ष  ढकालले बताए  ।


काठमाडौंको भृकुटीमण्डपमा २०८१ माघ २४ गते बिहीबारदेखि शुरु भएको ‘क्यान इन्फोटेकको ३०औं संस्करणको उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष ढकालले विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने धारणा राखेका हुन् ।


पाथिभरा केवलकार परियोजनाको बारेमा पछिल्ला समय भइरहेका विरोध तथा टिप्पणी प्रति लक्षित गर्दै  अध्यक्ष ढकालले भने, “एकातिर हामीले विकासको लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउने कुरा गरिरहेका छौं, अर्कोतर्फ पूर्वाधार विकासमा भइरहेका लगानीलाई विभिन्न बहानामा रोक्ने र नकारात्मक टिप्पणी गर्ने गरेका छौं । यसबाट लगानीको वातावारण मात्रै बिग्रिने होईन, स्वदेशमै रोजगारी सिर्जना गर्ने र रोजगारीका लागि विदेशिएका युवाहरुलाई नेपालमै रोक्ने अभियानलाई समेत अवरोध गरेका छौं ।” 

 
आफूले नेपालमा रोजगारी सिर्जना होस् भनेर काम गरिरहेको अवस्थामा विभिन्न नाममा विरोध हुनु दु:खद भएको बताउँदै अध्यक्ष ढकालले पाथिभरा केवलकार परियोजनाले कुनै धर्म संस्कृतिलाई असर गर्ने भन्दा पनि त्यसको प्रवर्द्धनमा सघाउ पुर्‍याउने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षणमा सघाउ पुर्‍याउने बताए ।


“म आफूपनि कुनै बेला कामको लागि विदेश गएको हुँ । नेपालमै केही गर्नुपर्छ भन्ने भावना बोकेर नेपाल फर्किएर केही गरिरहेको छु । हजारौंलाई रोजगारी दिएको छु ।

 

अहिले पनि नेपाली युवाहरु खाडी र मलेशियामा दु:ख गर्न बाध्य छन् । पाथीभरामा केवलकार बन्दा स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ । केही हजार युवालाई मुलुकभित्रै अवसर सृजना गर्न सकिन्छ,” अध्यक्ष ढकालले भने ।


अध्यक्ष ढकालले सोही केवलकारको विषयलाई लिएर नेपालको बैंक तथा वित्तीय संस्थाहरुलाई समेत अनावश्यक विवादमा तान्ने प्रयास भइरहेको उल्लेख गर्दै यस्ता गतिविधिले आन्तरिक तथा बाह्य लगानीलाई निरुत्साहित गर्ने धारणा राखेका छन् ।

प्रतिकृया दिनुहोस