• सोमबार-माघ-२१-२०८१

सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति

सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति


काठमाडौँ, २१ माघः राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व  भएको उल्लेख गर्नुभएको छ ।

 

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

 

माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उहाँले उल्लेख गर्नुभएको छ । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ ।

 

नवीनकार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदिजस्ता शुभकार्यका लागि यस दिनलाई रोज्ने प्रचलन पनि रहिआएको छ ।

 

आजको दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशःन्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ ।

 

राष्ट्रपति पौडेलले यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्दै सबैमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना  व्यक्त गर्नुभएको छ ।


सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत  : उपराष्ट्रपति


 उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

    वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८१ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार चाडपर्वहरुमा विविधता रहेको उल्लेख गर्दै गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गर्नुभयो ।    

 

    उपराष्ट्रपति यादवले भन्नुभएको छ, “वसन्त पञ्चमी पर्व माता सरस्वतीको आविर्भाव दिवसका रुपमा पनि मनाइन्छ, श्रीपञ्चमीका रुपमा मनाइने यो पर्व किसानसँग पनि जोडिएको छ, मधेशमा यस अवसरमा हलोको पूजा गर्ने र खेतिकिसानीमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने परम्परा छ, यसले मौलिक संस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्दछ ।”

 

पछिल्लो समय सार्वजनिक पूजा पञ्डालहरुमा सरस्वती देवीको माटोको प्रतिमाहरु स्थापना गरी सामूहिक पूजा–अर्चना गर्ने संस्कृति र परम्परा लोकप्रिय हुँदै गर्दा उहाँले  यसले ‘सामूहिकतामा एकता’ को मूल मर्मलाई प्रतिबिम्बित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

 

    यस अवसरमा विद्या, ज्ञान, बुद्धि, कला र सङ्गीतको प्रतीकका रुपमा देवी सरस्वतीको पूजा–अर्चना गर्ने हिन्दू विधान र पौराणिक परम्परा रही आएको छ । शैक्षिक संस्थाहरुले नृत्य, गीत–सङ्गीतको विशेष आयोजना गर्दै विद्याको अधिष्ठात्री सरस्वती देवीको पूजा–अर्चना गर्छन् ।

 

यस अवसरमा किताब, कलम, कपी, वाद्य उपकरण आदिको पूजा गर्ने परम्परा पनि छ । यसले विद्या र सङ्गीत साधनामा प्रयोग हुने सामग्रीहरुलाई सबैले सम्मान गर्न सक्नुपर्दछ भन्ने सन्देश दिन्छ । आजको दिन अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुलाई विद्या अध्ययन प्रारम्भ (अक्षरारम्भ) पनि गराउने गर्दछन् । 

प्रतिकृया दिनुहोस