• शनिबार-माघ-५-२०८१

चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन



काठमाडौँ, ५ माघ : संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्न/किराना पसल, पानी उद्योग, खानेतेल ( तोरी मिल)  उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीब्रता दिएको छ ।  

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ति प्रयोगशाला  ‘ फुडल्याब भ्यान’ मार्फत स्थलगत रुपमा परीक्षण गरिएको सो अनुगमन टोलीमा  चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको प्रतिनिधि  रहेका थिए । 

 

गत पुस २६ गते सो टोलीले अनुगमनका क्रममा चन्द्रागिरि –१२ स्थित बलम्बुमा रहेको ह्वाइट हिमालयन मिल्क प्रालीले बिक्रीवितरणका लागि तयार गरेको दूधको परीक्षण गर्दा अखाद्य बस्तु अर्थात ‘न्युट्रलाइजर पोजेटिभ’भेटिएको र तत्काल ६०० लिटर दूध नष्ट गरेको थियो ।  साथै सो उद्योगबाट उत्पादित अखाद्य घिउ, नौनी तथा पनिर समेत अनुगमन टोलीले नष्ट गरेको थियो ।  नगरपालिकाले सो उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार दुईलाख जरिवाना गराइएको जनाइएको छ । 

 

दूध तथा दूग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ अनुसार  सो उद्योगको दूधको गुणस्तर मापदण्ड जाँच गरिएको थियो । अनुगमन टोलीले चन्द्रागिरि वडा नं ११, १२ र १४ मा सञ्चालित विभिन्न तोरी मिलको अनुगमन समेत गरेको नगरपालिकाले जनाएको छ । यसक्रममा ती मिलबाट उत्पादित तेलको गुणस्तर जाँच गर्दा अखाद्यबस्तु मिसावट गरेको नभेटिएको  चन्द्रागिरि नगरपालिका उद्योग, वाणिज्य तथा व्यवसाय प्रवद्र्धन शाखाले जनाएको छ । 

 

संयुक्त बजार अनुगमन टोलीले गत पुसको अन्तिम साता नै चन्द्रागिरि नगरपालिका वडा  नं ८ भित्र सञ्चालित केही खानेपानी उद्योगहरुमा  आकस्मिक अनुगमन  गरेको  थियो । यस क्रममा पानीको गुणस्तर जाँच गरिएका उद्योगद्वारा उत्पादित पानी मापदण्डभित्रै रहेको भेटिएको थियो । अनुगमनका क्रममा टोलीले पानी भर्न अयोग्य केही बोतल तथा जार नष्टगरेको जनाइएको छ । –––
 

 

प्रतिकृया दिनुहोस