• शुक्रबार-पौष-२६-२०८१

रविको रिहाईले गगनलाई झड्का ? ६५ लाख धरौटीमा छुट्नु, निर्दाेष ठहर हुनु हाे ?

काठमाडाैं । रवि लामिछाने सहकारी ठगीको मुद्दामा कास्की अदालतबाट २०८१ पुस २५ गते धरौटीमा छुटेपछि एमाले र कांग्रेसका लागि भने झड्का लागेको छ । सत्ता गठबन्धनमा रहेको कांग्रेसको दबाबमा पक्राउ परेका लामिछानेलाई रू. ६५ लाख धरौटीमा छोडेको छ ।

 

एमाले र कांग्रेसले लामिछानेलाई व्यक्तिगत र पार्टीगत रुपमा पूर्वाग्राह राखेर पक्राउ गरेको आरोप लगाउँदै रास्वपाले आन्दोलन गरेको थियो । अहिले त्यही कुरालाई थप प्रचार गर्ने मौका पाएका छन् ।

 

कांग्रेसभित्र पनि मुख्यगरी महामन्त्री गगन थापाका लागि लामिछाने भारी पर्ने संभावना बढेको छ । आरजु राणा देउवा भन्दा पनि गगन थापाकै दबाबमा लामिछाने पक्राउ गरिएको रास्वपाका नेता र कार्यकर्ताहरूकाे बुझाइ रहेको छ ।

 

गगन थापाले लामिछानेलाई पक्राउ गरी बदनाम गराएपछि आफ्नो लोकप्रियता कायम राख्न सकिन्छ भन्ने विश्लेषणपछि प्रधानमन्त्री केपी ओलीमाथि दबाब बढाएको चर्चा पहिलादेखि नै हुने गरेको थियो । पछि रास्वपाका नेता कार्यकर्ताले पनि त्यही विश्लेषण गरिरहेका थिए ।  


एमाले र कांग्रेसले नयाँ पार्टीलाई आउन दिँदैन भन्ने भाष्यलाई बल पुग्ने कुरालाई रास्वपाले अब तीव्र प्रचार गर्ने देखिएको छ । त्यसले गर्दा एमाले र कांग्रेसको शहरी जनमत प्रभावित हुने संभावना रहेको छ । रास्वपाका नेता र कार्यकर्ताले त्यसरी नै प्रचार गर्दा एमाले र कांग्रेसको सरकारलाई पनि असर पर्ने संभावना देखिएको छ ।


   दाेषी ठहर नगरे पनि आधा कराेड भन्दा बढी रकम धरौटी राखेर छुटेको कुरालाई आम नागरिकले न्यायको रुपमा बुझ्ने संभावना रहेको छ । सोही कारण अदालतले न्याय दिएको भाष्य निर्माण गरेर रास्वपाले एमाले र कांग्रेसविरुद्ध जनमत निर्माण गर्ने लाग्ने देखिएको छ ।

 

प्रतिकृया दिनुहोस