• शुक्रबार-पौष-२६-२०८१

फ्याट्टी लिभरमा के खाँदा फाइदा ? 

 

असन्तुलित खानपान र मदिराको सेवनले समेत फ्याट्टी लिभर(बोसोयुक्त कलेजो)को समस्या शरीरमा देखापर्दछ । फ्याट्टी लिभर भएको अवस्थामा खाना राम्रोसँग नपच्ने, कलेजोले काम नगर्ने, जण्डिसको समस्याजस्ता शरीरमा अनेक समस्या देखापर्दछन् । फ्याट्टी लिभरलाई सामान्य ठानेर बेवास्ता गरेमा कलेजोको क्यान्सर हुने खतरा पनि बढ्दछ । त्यसैले, फ्याट्टी लिभर हुन नदिन र यसको रोकथामका लागि सन्तुलित खानपानमा ध्यान दिन जरुरी छ । फ्याट्टी लिभर भएको अवस्थामा केही यस्ता बीउहरू मिसाएर सेवन गर्न सकिन्छ, जसले यस्ता समस्याको निदानमा फाइदा पुर्‍याउँछ । यो बीउ मिश्रणमा फर्सीको बीउ, तरबुजाको बीउ, सूर्यमुखीको बीउ, आलस, सेतो तिल, सौंफ, धनियाको बीउ र ज्वानोजस्ता पौष्टिक तत्वहरू हुन्छन् । यी सबै बीउहरूले कलेजोलाई डिटोक्सिफाइ (विषाक्तरहित बनाउन) गर्न, सुजन कम गर्न र पाचन सुधार गर्न मद्दत गर्दछ ।


फर्सीको बीउ : फर्सीको दानामा जिंक र म्याग्नेसियम प्रशस्त हुन्छ, जसले कलेजोको कार्यलाई सुधार गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्ट र स्वस्थ बोसोले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्दछ । जर्नल अफ न्यूट्रिशनमा प्रकाशित एक रिपोर्टका अनुसार पर्याप्त मात्रामा जिंकले फ्याट्टी लिभरलाई रोक्न मद्दत गर्छ ।


तरबुजाको बीउ : तरबुजामा प्रोटिन, स्वस्थ फ्याट र आइरन हुन्छ, जसले कलेजोलाई पोषण दिन र यसको क्षति कम गर्न मद्दत गर्छ । यसले कलेजोको कोशिकालाई पुनर्निर्माण गर्न र फ्याट्टी लिभरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।


सूर्यमुखी बीउ : सूर्यमुखीको बीउमा भिटामिन ई प्रशस्त हुन्छ, जुन एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले कलेजोलाई अक्सिडेटिभ तनावबाट बचाउन र यसको कोशिकाहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ । 


आलस : आलसमा ओमेगा–३ फ्याट्टी एसिड र फाइबर हुन्छ, जुन कलेजोका लागि निकै फाइदाजनक हुन्छ । यसले कलेजोमा बोसो जम्मा हुनबाट रोक्छ र फ्याट्टी लिभर रोगको कारण हुने सुजनलाई कम गर्छ ।


सेतो तिल ः सेतो तिलमा क्याल्सियम र म्याग्नेसियम जस्ता तत्वहरू हुन्छन् । यसले कलेजोलाई डिटोक्सिफाई गर्न मद्दत गर्दछ ।


सौंफ : सौंफमा पनि डिटोक्सिफाई गर्ने गुण हुन्छ, जसले पाचनलाई सुधार गर्छ र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले कलेजोलाई प्राकृतिक रूपमा सफा गर्न मद्दत गर्छ ।


धनियाँको दाना : धनियाको दानाले कलेजोबाट विषाक्त पदार्थ बाहिर निकाल्न र बोसो जम्मा हुनबाट रोक्न मद्दत गर्छ । यसले कलेजोको सूजन कम गर्छ र पाचन सुधार्न मद्दत गर्दछ । 


ज्वानो : ज्वानोमा एन्टीइन्फ्लेमेटरी गुण हुन्छ, जसले कलेजोको सुजन कम गर्न मद्दत गर्दछ । यसले पाचन प्रणालीलाई सुधार गर्छ र कलेजोको कार्यलाई बढाउन मद्दत पनि गर्दछ । 


फ्याटी लिभरको समस्यालाई नियन्त्रण गर्न औषधिसँगै सही खानपान र जीवनशैली अपनाउनुपर्छ । पौष्टिकताले भरिपूर्ण बीउको मिश्रणले कलेजोलाई स्वस्थ मात्र राख्दैन, सम्पूर्ण पाचन प्रणालीलाई पनि बलियो बनाउँछ । यसको नियमित सेवनले फ्याट्टी लिभरको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
 

प्रतिकृया दिनुहोस