• शुक्रबार-पौष-२६-२०८१

एउटा भवनभित्र बसेको यो शहर 

 

अमेरिकाको अलास्कामा ह्वाइटियर नामक एउटा यस्तो अनौठो शहर छ, जुन एउटै भवनभित्र अवस्थित छ । सुन्दा अचम्म लाग्न सक्छ तर यस शहरका मानिसहरु भवनबाट बाहिर निस्कँदैनन् किनकि यस भवनभित्र सबै सुविधाहरु उपलब्ध छन् । यो १४ तले भवनको नाम बिचिङ टावर हो, जहाँ सबै प्रकारका सुविधाहरू उपलब्ध छन् । अलास्काको विचिङ टावरमा बसेको ह्वाइटियर शहर त्यसकारण पनि विश्वका अन्य शहरहरुभन्दा फरक छ । 


प्रशासनिक अवधारणालाई थाती राखेर हेर्ने हो भने यस भवनमा सबै कुरा उपलब्ध छन् । बिचिङ टावर नामक भवनमा प्रहरी चौकी, अस्पताल, गिर्जाघरदेखि किराना पसल, लुगा धुने सबै सामान छन् । भवनको भुइँतल्लामा ह्वाइटियर नामक विद्यालय छ, जहाँ यस शहरका सबै बालबालिका अध्ययन गर्छन् । ट्रेडिङ टावरको पहिलो तल्लामा शहर सञ्चालनका लागि आवश्यक सबै सुविधा उपलब्ध छन् । एकातिर हुलाक कार्यालय, अर्कोतिर प्रहरी चौकी र सरकारी कार्यालय पनि छन् । सन् २०२३ को तथ्यांक अनुसार शहरको कुल जनसंख्या २६३ जना रहेको छ । यो भवन सन् १९५६ मा निर्माण गरिएको थियो ।


अलास्काको यस क्षेत्रमा २५० देखि ४०० इन्चसम्म हिमपात हुन्छ र कहिलेकाँही प्रतिघण्टा ६० माइलको गतिमा हावा चल्छ । यो भवन दोस्रो विश्वयुद्धको समयमा सेनाको ब्यारेकको रूपमा प्रयोग गर्न निर्माण गरिएको थियो । युद्ध पछि यसलाई अपार्टमेन्टमा परिणत गरियो, जसमा अब ह्वाइटियर शहर रहेको छ । यो शहर आधुनिक समाजको अनुपम नमुना हो, जहाँ सीमित स्रोतसाधनमा पनि मानिसहरु आरामसँग बसिरहेका छन् । (साँघु साप्ताहिक, २०८१ पुस २२) 
 

प्रतिकृया दिनुहोस