• मंगलबार-पौष-२३-२०८१

सेनाकाे आयाेजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै

पदयात्रामा ऐतिहासिक झण्डा र सैन्य टोलीको सहभागिता

काठमाडौं, पुस २१ – ३०३ औं पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाउन तयारी तीव्र भएको छ। यसै अवसरमा नेपाल एकीकरणको महत्वपूर्ण मार्गको रूपमा चिनिने गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौँको हनुमान ढोकासम्मको पदयात्रा कार्यक्रम आज, २०८१ पुस २१ गते गोरखा दरबारबाट शुभारम्भ गरिएको छ।

 

पदयात्रामा ऐतिहासिक झण्डा र सैन्य टोलीको सहभागिता

गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका पाँच ऐतिहासिक कम्पनीहरू – श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख र सबुजका झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोसाक र परम्परागत बाजागाजा सहितको टोली सहभागी भएको छ।

गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख र उप-प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुख/प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू र सर्वसाधारणको सहभागिता रहेको थियो।

पदयात्रा गन्तव्य र समापन समारोह

यस पदयात्रा कार्यक्रमले धादिङ र नुवाकोट हुँदै हनुमान ढोकासम्मको यात्रा पूरा गर्नेछ र पौष २७ गते काठमाडौँको जङ्गी अड्डामा विशेष समारोहकाबिच समापन हुनेछ।

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको विशेष कार्यक्रम

पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा, पौष २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदान सम्बन्धी प्रवचन, लघु नाटक र वृत्तचित्र प्रदर्शन, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुनेछन्।

सैन्य इकाईका कार्यक्रमहरू

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य बनाउने उद्देश्यले नेपाल भर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूले पनि विविध कार्यक्रमहरूको आयोजना गरिरहेका छन्।

यस अवसरमा पृथ्वीनारायण शाहको योगदान र नेपालको एकताका लागि गरिएको ऐतिहासिक प्रयासहरूको पुनःमूल्याङ्कन र सम्मान गर्ने महत्वपूर्ण अवसर बन्नेछ।

(तस्बिर: नेपाली सेना)

प्रतिकृया दिनुहोस