• सोमबार-मङ्सिर-१७-२०८१

आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह

 

काठमाडौं  । आठ जना प्रहरी नायब महानिरीक्षकहरूले दर्ज्यानी चिन्ह पाएका छन् । गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका उनीहरूलाई सोमबार एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

 

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हले शुभोभन गरे । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकहरूमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।

 

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्य निष्ठता, कार्य कुशलता, पेशागत दक्षता एवम् इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्नुपर्ने बताए ।

 

‘राज्य र संगठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ,’ उनले भने, ‘यसमा खरो रूपमा उत्रिनु हुने छ भनी विश्वास लिएको छु ।’

 

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रवराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाका साथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस