• सोमबार-मङ्सिर-१७-२०८१

रौतहटका दुई वडामा कांग्रेस, एउटामा समाजवादी विजयी

 

 

रौतहट १७ मंसिर । रौतहटस्थित ३ वडा अध्यक्ष पदको लागि आइतबार भएको उप निर्वाचनमा २ वडामा कांग्रेस र १ वडामा एकीकृत समाजवादीका उम्मेदवार बिजयी भएका छन् ।


नेपाली कांग्रेस मधेश प्रदेशका सभापती पूर्व मन्त्री कृष्ण प्रसाद यादवको गृह वडा गढीमाई नगरपालिका -८ मा समाजबादी उम्मेदवार बिजयी भएका हुन् । अध्यक्षमा नेकपा एकिकृत समाजवादीका बजरंगी प्रसाद यादव निर्वाचित भएका छन्। प्रदेश सभापती यादवका आफन्त एवं वडा अध्यक्षका उम्मेदवार सुवोध कुमार यादव मत परिणाम अनुसार तेस्रो स्थानमा पुगेका छन् ।


सोमवार बिहान ४ बजे निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा समाजवादीका उम्मेदवार यादव २४ मतले वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कुल ६ सय ५५ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार जिउती देवी यादव कुल ६ सय ३१ मत प्राप्त गरेकी छन् ।

 

त्यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सुबोध कुमार यादवले कुल ६ सय १७ मत पाएका छन् । निर्वाचनमा मतगणनाको सुरु देखि नै नेकपा एमाले अग्रता कायम राखेका थिए तर अन्त्यमा एक्कासी नेकपा एकीकृत समाजवादीले जीत हात पारेका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सन्देश प्रसाद यादवले जम्मा २ सय ५८ मतमै चित बुझाएका छन् ।


जनमत पार्टीले जम्मा ८ मत मात्र प्राप्त गरेका छन् । निर्वाचनमा कुल मतदाता संख्या २ हजार ७ सय ५१ रहेकोमा जम्मा २ हजार २ सय ३७ जनाले मतदान गरेको निर्वाचन अधिकृत महमद मुनाले जानकारी दिएका छन ।


ईशनाथ नगरपालिका ७ मा नेपाली काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । खलिकले ६२७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५७५ मत ल्याएका छन् ।


यसै गरी राजपुर नगरपालिका ६ मा नेपाली काँग्रेसका समसे आलमले ७४४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकरुलाहले ४६३ मत ल्याएका छन् ।

 

 

प्रतिकृया दिनुहोस