• सोमबार-मङ्सिर-१०-२०८१

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन


मनिला, फिलिपिन्स, ९ मङ्सिर (रासस/सिन्हवा) : फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन् ।

 

मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरुलाई बताएअनुसार मनिलामा बिहान भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन् । फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको वस्तीको आगो निभाउन पानीको प्रयोग गर्न हेलिकप्टरहरू पठाएको थियो। फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चारवटा दमकल पठाएको जनाएको छ । 

 

आगो नियन्त्रणमा लिन करिब ३० वटा दमकल घटनास्थलमा जम्मा भएका थिए । यद्यपि, खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलावट भएको रामोसले बताउनुभयो । उहाँका अनुसार, साँघुरो सडकका कारण आगो नियन्त्रणमा थियो । आगलागीपछि भागेका बासिन्दाहरू सडकमा जम्मा भएका कारण पनि अग्निनियन्त्रकलाई बस्तीभित्र पस्न गाह्रो भएको थियो । 

 

मनिला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले स्थानीय समयअनुसार दिउँसो २ बजे आगलागी भएको घोषणा गरेको हो । अहिलेसम्म कुनै हताहत भएको खबर प्राप्त नभए पनि आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन् । 

 

आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
---

 

प्रतिकृया दिनुहोस