• मंगलबार-कार्तिक-६-२०८१

स्वास्थ्य मन्त्री पौडेलद्वारा उचित मूल्यमा औषधि उपलब्ध गराउन सुझाव समिति गठन



काठमाडौं । उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् । कात्तिक ६ गते मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद डा.पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन् । 


गठित समितिको सदस्यमा स्वास्थ्यविद डाक्टर अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद डाक्टर देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन् । 

 

यसैगरी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव छन् । समितिलाई औषधिको उपभोक्तालाई उचित मूल्यमा उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ । 


समितिलाई छिमेकी देशहरुले अपनाईएका औषधि मूल्य सम्बन्धि नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी उपयुक्त हुने स्वच्छ मूल्य निर्धारण सम्बन्धी आधारहरु पहिचान गरी गर्नुपर्ने नीतिगत सुधार सम्बन्धी सुझाव दिन पनि भनिएको छ । 

 

  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समितिले औषधि मूल्य सम्बन्धित विषय वस्तुबारे अभ्यास पुनरावलोकनसमेत गरेर गुणस्तर पहिचान समेत गरी सुझाव सिफारिस गर्नेछ । औषधिको मूल्यसँग सम्बन्धित नीति प्रणाली, बजार मूल्य, आयात–निर्यात अवस्था तथा सरकारी नीतिहहरुबारे समेत समितिले मन्त्रालयलाई सुझाव दिनेछ । मूल्य निर्धारण गर्न पर्ने थप औषधिहरुको सूची र प्रस्तावित अधिकतम खुद्रा मूल्य सम्बन्धी आधारसहित सुझाव दिने । 


समितिको कार्यविधि समितिले, कार्य सम्पादन गर्नका लागि आवश्यक कार्यविधिहरू आफै तयार गर्नेछ र आवश्यकता अनुसार विषयगत उपसमिति गठन गर्न सक्नेछ समितिको लागि आवश्यक सूचना संकलन, बैठक संचालन तथा सरोकारवालाहरुसँगको छलफल समिति आफैंले निर्धारण गर्नेछ । समितिले नीतिगत एवं मूल्य निर्धारणबारेका सुझाव मन्त्रीसमक्ष प्रस्तुत गर्नेछ । 


समितिको सोही सुझावका आधारमा उपभोक्तालाई औषधिको गुणस्तर नियन्त्रण प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउने गरी मन्त्रालयले आवश्यक निर्णयसमेत लिने प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए ।
 

 

प्रतिकृया दिनुहोस