🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

कर्णालीमा महिला हिं सा ड रलाग्दो: यस्ता छन एक महिनामा तीन द र्दनाक घटना !

 

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय महिला हिंसाका घटनाहरू लगातार बढ्दै गएका छन् । महिला हिंसासम्बन्धी एक महिनाभित्र भएका तीन दर्दनाक घटनाले मात्रै होइन, तथ्याङ्कहरूले पनि यहाँको अवस्था झनै चिन्ताजनक बन्दै गएको संकेत गरेका छन् ।

गत फागुन २३ गते सुर्खेतकी इनिशा बिकको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो । घटनापछि दोषीमाथि कडा कारबाहीको माग गर्दै परिवारले लामो समयसम्म शव बुझ्न अस्वीकार ग¥यो । करिब दुई साताको अनुसन्धानपछि अदालतले चार जनालाई जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । त्यसपछि मात्रै २७ दिनपछि भेरी नदीमा इनिशाको अन्त्येष्टि गरिएको थियो ।

चैत पहिलो साता सुर्खेत गुर्भाकोट–१२ की माया कठायत दुई नाबालक छोराछोरीसहित घरबाट हराइन् । माया हराएको भोलीपल्ट भेरी नदी किनारमा उनको मृत शरीर भेटियो । त्यसको एक दिनपछि उनकी ११ बर्षिया छोरी आशाको शव भेटियो । पाँच वर्षका छोरा दीपक अझै भेटिएका छैनन् ।

पारिवारिक तनाव र श्रीमानको यातना सहन नसकेर मायाले भेरी नदीमा हाम फालेको भन्दै उनका माइती पक्षले ज्वाइँविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी दिए पछि प्रहरीले मायाका श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

चैत १५ गते कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–३ की मनसरा अधिकारी बुढा आफ्नै घरमा मृत भेटिइन् । उनको शरीरमा देखिएका घाउ र शवको पोस्टमार्टम पछि प्रहरीले श्रीमान् काँशीराम बुढालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । काँशीरामले बञ्चरो प्रहार गरी श्रीमती मनसराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । एक महिनामा यी तीन घटनाले कर्णालीमा महिला हिंसाको अवस्था डरलाग्दो रहेको चित्रण गरेका छन् ।

मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनले पनि कर्णालीमा मानव अधिकार उलङ्घनका घटनाहरू बढीरहेको देखाएको छ । पछिल्लो एक वर्षमा कर्णालीमा भएका ६९४ मानव अधिकार उलङ्घन र ज्यादतीका घटनामा महिलाहरू पीडित रहेको देखाएको छ । यी घटनामा ५३१ महिला र ७८ जना पुरुष रहेको देखाएको छ । पछिल्ला तीन वर्षमा कर्णालीमा जबरजस्ती करणीका मात्रै ४९२ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि २०८१/०८२ सम्म क्रमशः घटनाको सङ्ख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा दुई सय नौ र आर्थिक वर्ष २०८१/०८२ मा १७४ मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०८२/०८३ को हालसम्म एक सय नौ वटा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले बताए ।

इन्सेकले २०२५ मा कर्णालीमा बलात्कारका घटनाहरू पनि बढेको देखाएको छ । पाँच वर्षको अवधिमा बलात्कारका घटनाहरू २७ बाट बढेर ६४ पुगेको छ । २०२१ मा २७ वटा, २०२२ मा ३९ वटा घटना घटेका थिए भने २०२३ मा ५१ वटा घटना घटेका थिए । यस्तै २०२४ मा ६० वटा घटनाहरू घटेकोमा यो वर्ष बढेर ६४ पुगेका छन् । अधिकांश घटनामा पीडित बालिका तथा महिलाहरू धेरै रहेका छन् ।

अधिकांश घटनामा पीडितले चिने जानेका व्यक्ति, नजिकका आफन्त, छिमेकी वा समाजले विश्वास गरेका व्यक्तिहरूबाट हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । कतिपय घटनाहरू सार्वजनिक नहुने भएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने प्रहरीको अनुमान छ । कतिपय घटनाहरू मिलापत्रमै टुङ्ग्याउँदा पनि महिला हिंसाको वास्तविक तथ्याङ्क आउन नसकेको अधिकारकर्मीको भनाई छ ।

कर्णालीमा हुने मानव अधिकार उलङ्घनका घटनामा पुरुषभन्दा महिला बढी पीडित भएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताए ।

‘कर्णालीको मानव अधिकारको अवस्थामा अघिल्लो वर्षभन्दा केही सुधार देखिए पनि महिलामाथि हुने हिंसाका घटनाहरूमा कमी देखिँदैन’ उनले भने, ‘कारागारमा मृत्यु, परिवारजनबाट भएका हत्या र धम्कीका घटना गत वर्षभन्दा पनि बढी रहेका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *