काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘सिजाङ पानोरमा’ शीर्षकको विशेष प्रदर्शन कार्यक्रममा चर्चित चिनियाँ निर्देशक पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन गरिएको छ। तिब्बती गोठालाहरूको जीवन, प्रकृति र मानवबीचको जटिल तर सहअस्तित्वपूर्ण सम्बन्धलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने यस फिल्मले महोत्सवमा दर्शक तथा फिल्मकर्मीहरूको विशेष ध्यान खिचेको छ।
सन् २०२३ को भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस फिल्मलाई निफले आफ्नो विशेष प्रदर्शन खण्ड ‘सिजाङ पानोरमा’ अन्तर्गत समावेश गरेको हो। मानव जीवन, वन्यजन्तु, स्थानीय संस्कृति र वातावरणीय यथार्थलाई एकै सूत्रमा बाँधेर निर्माण गरिएको ‘स्नो लियोपार्ड’ले अन्तर्राष्ट्रिय स्तरमै चर्चा बटुलेको थियो। यही कारण पनि निफमा यसको प्रदर्शनलाई अर्थपूर्ण र विशेष मानिएको छ।
निफअन्तर्गत शनिबार ‘सिजाङ पानोरमा’ खण्डमा ‘स्नो लियोपार्ड’सँगै अन्य तीन फिल्म पनि प्रदर्शन गरिएका छन्। ती फिल्महरूमा ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ रहेका छन्। यी तीनै फिल्म भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा प्रदर्शन भएका हुन्। विविध सामाजिक, सांस्कृतिक र शैक्षिक विषयवस्तु उठान गर्ने यी फिल्महरूले हिमाली समाजको बदलिँदो यथार्थलाई फरक–फरक कोणबाट प्रस्तुत गरेका छन्।
गुओ यिफीको निर्देशनमा बनेको ‘होम अवे होम क्लोज’ ले दुर्गम भौगोलिक क्षेत्रमा बसोबास गर्ने स्थानीय गोठालाहरूको जीवनसँग जोडिएको कथा प्रस्तुत गर्छ। फिल्ममा एक युवकले ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न जटिल भूगोल, सीमित स्रोतसाधन र सामाजिक चुनौतीसँग जुध्दै गरेको संघर्षलाई देखाइएको छ। ग्रामीण समुदायमा सेवाको पहुँच, श्रम, समर्पण र स्थानीय जीवनको वास्तविकतालाई फिल्मले मार्मिक ढंगले उभ्याएको छ।
त्यस्तै, ज्याक मालाटेरे निर्देशित ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ ले शिक्षा क्षेत्रका गम्भीर सवाल उठाएको छ। दुर्गम हिमाली परिवेशमा शिक्षा हासिल गर्ने प्रयास, विद्यार्थीको संघर्ष, अवसरको अभाव र शिक्षाप्रतिको आकांक्षालाई यस फिल्मले केन्द्रमा राखेको बताइएको छ। भौगोलिक रूपमा कठिन क्षेत्रमा पनि शिक्षाको उज्यालो फैलाउने अभियान कति चुनौतीपूर्ण छ भन्ने कुरा फिल्मले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
सियाओ सियाओवाई निर्देशित ‘सनराइज ओभर द प्लेटो’ ले साधारण परिवारहरूको जीवनमा शिक्षा, अर्थतन्त्र र संस्कृतिको क्षेत्रमा आएको असामान्य परिवर्तनलाई उजागर गरेको छ। सामाजिक रूपान्तरणका क्रममा पारिवारिक संरचना, सांस्कृतिक मूल्य र आर्थिक व्यवहारमा देखिएका नयाँ आयामलाई फिल्मले चित्रण गरेको छ। आधुनिकता र परम्पराबीचको टकराव तथा सन्तुलनको खोजी फिल्मको मुख्य विषय बनेको छ।
निफले जनाएको अनुसार ‘सिजाङ पानोरमा’ अन्तर्गत आइतबार पनि दुई फिल्म प्रदर्शन गरिने कार्यक्रम रहेको छ। यसअन्तर्गत ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजाङ २०२६’ दर्शकमाझ प्रस्तुत गरिनेछन्। महोत्सवको यो खण्ड प्रतिस्पर्धाबाहिरको विशेष प्रदर्शन कार्यक्रमका रूपमा राखिएको हो, जहाँ विशेष विषय, भूगोल र सांस्कृतिक पहिचान बोकेका फिल्मलाई स्थान दिइएको छ।
यसैबीच, निफअन्तर्गत शनिबार प्रतिस्पर्धामा रहेका विभिन्न फिल्महरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रदर्शन भएका थिए। महोत्सवका विभिन्न प्रदर्शन स्थलहरूमा दर्शक, फिल्मकर्मी, विद्यार्थी तथा चलचित्रप्रेमीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। यसले निफप्रतिको बढ्दो आकर्षण र अन्तर्राष्ट्रिय सिनेमा प्रतिको नेपाली दर्शकको रुचिलाई पुनः पुष्टि गरेको आयोजकहरूको भनाइ छ।
शनिबार नै भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा ‘निफ फिचर पिच’ कार्यक्रम पनि सम्पन्न भएको थियो। उक्त कार्यक्रममा नयाँ तथा युवा लेखकहरूले आफ्ना कथा, सम्भावित फिल्म अवधारणा र सिर्जनात्मक परियोजनाहरू निर्मातासामु प्रस्तुत गरेका थिए। नेपाली फिल्म उद्योगमा नयाँ प्रतिभा र नयाँ कथावस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई महोत्सवकै महत्त्वपूर्ण र सिर्जनात्मक सेगमेन्टका रूपमा हेरिएको छ।
निफले यस वर्ष पनि केवल फिल्म प्रदर्शनमा सीमित नरही, अन्तर्राष्ट्रिय चलचित्र संवाद, सांस्कृतिक आदानप्रदान, नयाँ प्रतिभाको प्रवर्द्धन र वैकल्पिक सिनेमाको प्रवाहलाई बलियो बनाउने प्रयास गरिरहेको देखिएको छ।
विशेष गरी ‘सिजाङ पानोरमा’ जस्ता खण्डहरूले हिमाली समाज, सीमावर्ती संस्कृति, शिक्षा, पर्यावरण र मानवीय संवेदनालाई केन्द्रमा राख्ने फिल्महरूलाई नेपाली दर्शकमाझ ल्याएर महोत्सवलाई थप समृद्ध बनाएको छ।




