🌤 लोड... | लोड हुँदैछ… | --- | --:--:--

अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने ३ ट्याक्टर नियन्त्रणमा, जरिवाना

बाँके । बाँके जिल्लाको बैजनाथ गाउँपालिका–२ क्षेत्रबाट अवैध रूपमा नदीजन्य पदार्थ तथा माटो उत्खनन् गरी ढुवानी गर्दै गरेका ३ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ चैत २१ गते इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उक्त सवारी साधनहरू नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नदीजन्य पदार्थको अनधिकृत उत्खनन् तथा ढुवानी भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। अनुगमनका क्रममा बैजनाथ गाउँपालिका–२ क्षेत्रबाट नदीजन्य पदार्थ र माटो अवैध रूपमा उत्खनन् गरी ओसारपसारमा संलग्न ३ वटा ट्याक्टर फेला परेपछि नियन्त्रणमा लिइएको जनाएको छ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि बैजनाथ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा बुझाइएको थियो। त्यसपछि स्थानीय तहले कानुनी प्रक्रिया अनुसार ती सवारी साधनमाथि कारबाही गर्दै रु. ९ हजार जरिवाना गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

नदीजन्य पदार्थको अवैध उत्खनन् र ढुवानीले वातावरणीय सन्तुलन बिगार्नुका साथै नदीको प्राकृतिक बहाव, तटबन्ध र आसपासको बस्तीमा समेत नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरी र स्थानीय तहले संयुक्त रूपमा निगरानी बढाइरहेको बताइएको छ।

प्रहरीले नदीजन्य पदार्थ, ढुंगा, गिट्टी, बालुवा तथा माटोको अवैध उत्खनन् र ओसारपसारमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। यस्ता कार्य कानूनविपरीत भएकाले संलग्न व्यक्ति तथा सवारी साधनमाथि कडा कारबाही गरिने पनि जनाएको छ।

बाँके प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा नदीजन्य पदार्थको चोरी निकासी तथा अवैध दोहन नियन्त्रणका लागि निगरानीलाई अझ प्रभावकारी बनाइएको उल्लेख गर्दै यस्ता गतिविधिबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *