बर्दिबास । महोत्तरीको सीमावर्ती क्षेत्रमा तस्करीको जालो कति गहिरो छ भन्ने अर्को उदाहरण बर्दिबासमा देखिएको छ। भारतबाट अवैध रूपमा भित्र्याइएको करिब अढाई टन हरियो केराउसहित एक पिकअप भ्यान पक्राउ परेपछि सीमा सुरक्षा, प्रहरी संयन्त्र र तस्कर समूहबीचको सम्भावित साँठगाँठबारे गम्भीर प्रश्न उठेको छ।
घटना २०८२ चैत २० गते शुक्रबार रातिको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्मा स्वयं गस्तीमा निस्किएका बेला महेन्द्र राजमार्ग अन्तर्गत बर्दिबास क्षेत्रमा एउटा पिकअप भ्यानमाथि शंका लागेपछि चेकजाँच गर्न लगाइएको थियो।
हेर्दा सामान्य ढुवानीजस्तो देखिए पनि जब गाडी खोलियो, त्यहाँ बिलबिजकविहीन ठूलो परिमाणको हरियो केराउ भेटियो। प्रहरी स्रोतका अनुसार गाडीमा करिब २५ क्वीन्टल, अर्थात् अढाई टन केराउ लोड गरिएको थियो।
यो परिमाण आफैंमा सामान्य कारोबारको विषय होइन। बिलबिजक नभएको, रातिको समयमा ओसारपसार गरिएको र सीमावर्ती नाका हुँदै भित्र्याइएको तथ्यले यो काम संगठित तस्करी सञ्जालअन्तर्गत भएको स्पष्ट संकेत दिएको छ।
पोखरवृन्दा नाका फेरि शंकाको घेरामा
अनुसन्धानका क्रममा उक्त केराउ भारतबाट महोत्तरीको पोखरवृन्दा नाका हुँदै नेपाल भित्र्याइएको खुलेको छ। यो नाका पछिल्लो समय तस्करीका लागि सहज मार्गका रूपमा प्रयोग हुँदै आएको स्थानीयहरूको गुनासो छ। खाद्यान्नदेखि लत्ताकपडा, इलेक्ट्रोनिक्सदेखि दैनिक उपभोग्य वस्तुसम्म अवैध रूपमा यही नाकाबाट ओसारपसार हुने गरेको चर्चा नयाँ होइन। तर, यसपटक भने अढाई टन केराउसहित गाडी नै समातिएपछि त्यो चर्चा ठोस घटनामा रूपान्तरण भएको छ।
नेपाल सरकारले भारतबाट हरियो केराउ आयातमा प्रतिबन्ध लगाइसकेको अवस्थामा यति ठूलो परिमाणको सामान सीमा पार गरेर नेपाल छिर्नु साधारण कुरा होइन। यसले सीमा क्षेत्रमा तस्करहरूको पहुँच मात्र होइन, उनीहरूको हिम्मत पनि अस्वाभाविक रूपमा बढेको देखाउँछ।
प्रहरीकै छायाँमा तस्करी ?
घटनाको सबैभन्दा गम्भीर पक्ष यहीं छ। यति ठूलो परिमाणको सामान सीमाबाट छिर्यो, बाटो कट्यो, राजमार्गसम्म आइपुग्यो, तर कसैले देखेन ? वा देखेर पनि नदेखेजस्तो गरियो ? यहीँबाट प्रहरी र सशस्त्र प्रहरी बलका केही व्यक्तिको मिलेमतोबारे आशंका झन् बाक्लिएको छ।
स्थानीय तहमा ‘सेटिङ’को कुरा पहिल्यैदेखि चल्दै आएको थियो। सीमाबाट सामान छिराउने, नाकामा आँखाचिम्लिने, बीच बाटो सुरक्षित पारिदिने र अन्तिम गन्तव्यसम्म पुर्याइदिने ‘लाइन’ मिलाएर तस्करी हुने गरेको कुरा जनस्तरमा नौलो होइन। यसपटकको घटनाले त्यो चर्चालाई थप बल दिएको छ। प्रश्न सोझै उठेको छ-यदि एसपी स्वयं गस्तीमा ननिस्किएको भए यो केराउको गाडी पनि सुरक्षित रूपमा गन्तव्यमा पुग्थ्यो कि पुग्दैनथ्यो ?
सामान कसको ?
प्रहरी अनुसन्धानले उक्त केराउ धनुषा जिल्लाको महेन्द्रनगर घर भएका शंकर साहको रहेको देखाएको बताइएको छ। व्यापारको आवरणमा सीमावर्ती क्षेत्रमा अवैध कारोबार चलाउने गिरोहसँग उनको नाम जोडिँदै आएको स्रोतहरूको दाबी छ। प्रहरीले उनलाई निगरानीमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ। तर यस्ता घटनामा नाम निस्किनु र कानुनसम्म पुग्नु बीचको दूरी नेपालमा धेरै लामो हुने गरेको विगतले देखाइसकेको छ।
पक्राउपछि ‘छुटाउने’ दौडधुप
गाडीसहित केराउ नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ। प्रारम्भिक रूपमा कानुनी प्रक्रिया अघि बढाइने भनिएको छ। तर घटना समातिनासाथ अर्को खेल पनि सुरु भएको चर्चा छ-सामान छुटाउने खेल।
स्रोतहरूका अनुसार तस्कर समूह अहिले सक्रिय छ। प्रभावशाली व्यक्तिहरू, स्थानीय पहुँचवाला दलालहरू र माफिया प्रकृतिका तत्वहरू मिलेर प्रहरी तथा सम्बन्धित कार्यालयहरूमा दबाब सिर्जना गर्ने प्रयास भइरहेको बताइन्छ। यदि यो दबाब सफल भयो भने समातिएको केराउ मात्र छुट्ने छैन, राज्यको शेष विश्वसनीयतामाथि पनि अर्को धक्का लाग्नेछ।
राजस्वमा सीधा डकैती
अवैध रूपमा भित्र्याइएको यस्ता सामानले राज्यको राजस्वमा ठूलो क्षति पुर्याउने कुरा छुट्टै हो। अढाई टन केराउको बजार मूल्य लाखौँ रुपैयाँ पर्ने अनुमान छ। त्यसबाट राज्यले लिनुपर्ने भन्सार, कर र अन्य राजस्व पूर्ण रूपमा छलिएको छ। तस्करी भनेको केवल गैरकानुनी व्यापार मात्र होइन, यो राज्यको ढुकुटीमाथिको संगठित हमला हो।
मौनता किन ?
मधेस प्रदेश प्रहरी कार्यालयले केराउसहितको गाडी पक्राउ परेको पुष्टि गरिसकेको छ। तर प्रश्न अझै बाँकी छ-यो घटनाको जरोसम्म पुगेर दोषीमाथि कारबाही हुन्छ कि हुँदैन ? गाडी समातियो, सामान फेला पर्यो, मालिकको नाम बाहिर आयो, नाकाको रुट खुल्यो। अब पनि यदि अनुसन्धान बीचमै सेलायो, फाइल दबाइयो वा मिलापत्रको बाटो खोजियो भने त्यसको सीधा अर्थ हुनेछ-तस्करीमाथि होइन, तस्करमाथि राज्य नरम छ।
घटना होइन, संकेत हो
बर्दिबासको यो घटना एउटा मात्रै अवैध ढुवानी समातिएको प्रसंग होइन। यो सीमावर्ती क्षेत्रमा फैलिएको तस्करी सञ्जालको एउटा झलक हो। अझ त्यसमाथि प्रहरीकै मिलेमतो भएको आशंका बलियो बन्दा सुरक्षा निकायको विश्वसनीयतामाथि गम्भीर धक्का पुगेको छ।
अब आवश्यक कुरा भाषण होइन, काम हो।
निष्पक्ष छानबिन हुनुपर्छ।
संलग्न प्रहरीमाथि पनि कारबाही हुनुपर्छ।
पोखरवृन्दा नाकामा कडाइ बढ्नुपर्छ।
तस्करहरूको सञ्जाल भत्काउने ठोस योजना आउनुपर्छ।
नत्र आज रातको अँध्यारोमा अढाई टन केराउ समातिएको छ, भोलि त्यही अँध्यारोमा अझ ठूलो खेप, अझ ठूला नाम र अझ गहिरो सेटिङ देशको आँखै अगाडि हिँडिरहनेछ।




