काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालित हवाई उद्धार कार्यक्रमअन्तर्गत सोलुखुम्बुबाट एक महिलाको सफल उद्धार गरिएको छ।

मन्त्रालयका अनुसार २०८२ चैत १९ गते सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिका–५ निवासी एक महिलालाई जटिल प्रसूति समस्या देखिएपछि तत्काल उद्धार गरिएको हो। दुर्गम भौगोलिक अवस्थाका कारण स्थलगत उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ।
उद्धार गरिएकी महिलालाई थप उपचारका लागि काठमाडौंस्थित सुविधा सम्पन्न अस्पतालमा भर्ना गरिएको छ। हाल उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकीय निगरानीमा उपचार भइरहेको जानकारी दिइएको छ।
मन्त्रालयले दुर्गम तथा विकट क्षेत्रका गर्भवती र सुत्केरी महिलाहरूलाई समयमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नभएका हिमाली तथा पहाडी क्षेत्रका महिलाहरूका लागि यो कार्यक्रम जीवनरक्षक सावित हुँदै आएको छ।
सोलुखुम्बुजस्ता दुर्गम जिल्लामा आकस्मिक प्रसूति जटिलता देखिँदा समयमै अस्पताल पुर्याउन नसक्दा ज्यान जोखिममा पर्ने अवस्था रहँदै आएको छ। यस्ता अवस्थामा हवाई उद्धार कार्यक्रम प्रभावकारी विकल्पका रूपमा स्थापित हुँदै गएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा यस कार्यक्रममार्फत दर्जनौँ महिलाको सफल उद्धार गरिसकिएको छ। उनीहरूले स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षा निकायबीचको समन्वयले कार्यक्रम अझ प्रभावकारी बनेको बताएका छन्।
मन्त्रालयले भविष्यमा यस्ता उद्धार सेवालाई अझ विस्तार गर्ने तथा दुर्गम क्षेत्रका मातृ स्वास्थ्य सेवामा पहुँच बढाउने योजना अघि सारेको छ।




